ख्याहामा ‘बाँदर हेरालु’

पाल्पा । रिब्दीकोट गाउँपालिका १ नं. वडा कार्यालय, ख्याहाले बाँदरको बढ्दो आतंक नियन्त्रण गने ‘बाँदर हेरालु कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । लामो समयदेखि बाँदरको उपद्रोका कारण हैरानी व्यहोर्दै आएका स्थानीय किसानलाई राहत दिन र उनीहरूको कृषि उत्पादन जोगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

खेतबारीमा लगाएको मकै, तरकारी तथा अन्य नगदे बाली बाँदरले सखाप पार्ने गरेको र किसानहरू कृषि पेशाबाटै पलायन हुने स्थिति हटाउन कार्यविधि र परिचालन योजनाअनुसार वडाका विभिन्न टोल तथा बस्तीहरू ९ जना स्थानीयलाई ‘बाँदर हेरालु’ का रूपमा नियुक्त गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । उहाँले नियुक्ति पाएका हेरालुहरू बाँदर तर्साउने सामग्रीसहित बिहानैदेखि किसानका खेतबारी र पाखापखेरामा खटिने गरेका छन् । उनीहरूले मुख्य क्षेत्रहरूमा पुगेर बाँदरको आवतजावतमा निरन्तर निगरानी राख्ने, बाँदरलाई बस्ती र बालीनालीभित्र पस्न नदिई धपाउने तथा सम्भावित क्षति रोक्न सतर्कता अपनाउने काम गर्ने बताउनुभयो ।

बाँदर धपाउन हेरालु खटाइएपछि बाली जोगाउन सहज हुनुका साथै आफ्नो परम्परागत खेती कृषकहरुमा उत्साह र आकर्षण जागेको वडाबासीले बताएका छन् । उनीहरुले किसानको समस्यालाई मध्यनजर गर्दै स्थानीयस्तरमै रोजगारीको सिर्जनासमेत हुने गरी वडा कार्यालयले गरेको बाँदर हेरालु परिचालन कार्यक्रमले कृषकहरुमा सकारात्मक उर्जा थप्नुका साथै कृषि उत्पादन बचाउन सकिएको बताएका छन् । वडा कार्यालयले कतिपय स्थानमा तारजालीसमेत लगाइदिएको कृषकहरुको भनाइ छ ।

किसानहरूले कृषि उपज जोगाउन सुरु गरिएको यो प्रयासले ख्याहाका कृषकलाई प्रत्यक्ष फाइदा पु¥याएको विश्वास वडा कार्यालयले लिएको छ । आगामी दिनमा यस कार्यक्रमलाई थप व्यवस्थित, दीगो र प्रभावकारी बनाउँदै लैजान सके सबै क्षेत्रमा बाँदर आतंकबाट कृषि उपज बचाउन सकिने सरोकारवालाको भनाइ छ । वडा कार्यालयले विगत चार वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिँर्दै आएको छ ।

(मिति २०८३ साल भदौ ४ गते बिहीबारको करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय