
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी पाल्पाले ‘मिसन पार्टी जागरण अभियान’ सुरु गरेको छ । पार्टीको पाँचौँ पूर्ण बैठकमा केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको अभियानकोे उद्देश्य र आगामी कार्यभारबारे प्रकाश पार्दै औपचारिक रुपमा अभियानको शुभारम्भ गर्नुभएको हो ।
बैठकले गरेको विभिन्न निर्णयसहित पार्टीले स्थानीय तहलाई सर्कुलर समेत गरेको छ । अभियानलाई प्रभावकारी बनाउनका लागि २०८३ भाद्र २० गतेभित्र पालिका स्तरमा योजना निर्माण गर्ने, मंसिर मसान्तभित्र अवधि पुगेका पालिका तथा वडा कमिटीका अधिवेशनहरू सम्पन्न गर्ने र पुस महिनाभित्र जनसंगठनका अधिवेशनहरू वडा तहसम्म पु¥याउने निर्णय गरिएको छ । साथै पालिका, वडा हुँर्दै टोल कमिटीसम्म बैठक, भेला, प्रशिक्षण तथा भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिने, जनप्रतिनिधिहरूले बुझाउन बाँकी रहेको १० प्रतिशत लेवी २०८३ असोज मसान्तभित्र अनिवार्य बुझाउनुपर्ने, १८ वर्ष उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा दर्ता गराउन पहल गर्ने र तीजको अवसरमा पालिकास्तरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय भएको सचिव रामजी पोखरेलले बताउनुभयो ।
बैठकमा जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगरले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसका साथै बैठकले संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार र आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै विभिन्न महत्वपूर्ण निर्णय गर्नुका साथै पार्टी सुदृढीकरण, जनजीविका र जिल्लाको समग्र विकास सम्बन्धी समसामयिक प्रस्तावहरू पारित गरेको उपसचिव दीपक विश्वकर्माले जानकारी दिनुभयो । जसमा सरकारले संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यता विपरीत पूर्वाग्रहपूर्ण ढङ्गले गतिविधि अघि बढाएको आरोप लगाउँदै एमालेले निष्पक्षता र सुशासन कायम गर्न, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न र चर्को मूल्यवृद्धिको मारमा परेका जनतालाई राहत दिन एलपीजी ग्यास लगायतका दैनिक उपभोग्य वस्तु सहज र सुलभ मूल्यमा उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ ।
यसैगरी, कृषकहरूले समयमा रासायनिक मल नपाएको तथा बाँदर, बँदेल र दुम्सीजस्ता वन्यजन्तुका कारण बालीनालीमा क्षति पुगेको विषयमा ध्यानाकर्षण गराउँदै बैठकले किसानका समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ । संघीय बजेटमा पाल्पाको विकास र पूर्वाधार निर्माणका लागि अत्यन्तै न्यून बजेट विनियोजन गरिएकोमा चिन्ता व्यक्त गर्दै विकासका आयोजनाहरूमा पर्याप्त बजेट व्यवस्था गर्न, पश्चिम नेपालका रोल्पा, जाजरकोट लगायतका जिल्लामा बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार र पीडितलाई उचित क्षतिपूर्ति दिन माग गरिएको उपसचिव विकले बताउनुभयो ।







