
तानसेन । ‘मलाई रुचाउनेहरूले घण्टप्रसादजी भन्छन्, नरुचाउनेहरूले घण्टे भन्छन् । जसले जसरी भने पनि घण्टप्रसाद अर्याल मेरो सरकारी नाम हो । रुचाउने र नरुचाउने सबैको हितमा मैले काम गरेको छु । देशविदेशका मान्छेले यही नामले मलाई चिन्दछन् ।’
मदनपोखराको प्रख्याती देख्न जान्न आएका विकासे तीर्थयात्रीलाई परिचय दिँदा घण्टप्रसाद अर्यालले बोल्ने भाषाशैली हो यो । अझ कहिलेकाहीँ सर्वेश्वर महादेव मन्दिरको घण्ट ड्याङ्ग बजाएर आफ्नो परिचय सुरु गर्थे । वि.सं. २०५० र ०६० को दशकमा अध्ययन÷अवलोकन वा भ्रमण टोली प्रायः दिनहूँ आइरहन्थ्यो । टोलीले सामुदायिक वन, आधुनिक कृषि, सामुदायिक सञ्चारको विकासक्रम, सफलताका कथा र उपलब्धि सुन्न लालायित हुन्थे । सामुदायिक भावना, श्रमप्रतिको आस्था र सङ्घर्षपूर्ण जीवनशैली बिताउने मदनपोखरेलीका दिनचर्या उनीहरूका लागि जिज्ञासा हुन्थे । प्राचीन तानसेनलाई ओझेलमा पार्ने गरी घचर्चामा रहेको आधुनिक मदनपोखराका निर्मातामध्येका एक घण्टप्रसाद अर्याल स्वयम्लाई टोलीको सहजकर्ताका रूपमा पाउँदा भ्रमण टोली दङ्ग पर्दथ्यो । त्यसबखतका सङ्घर्ष, साहस तथा दुस्साहसका अनुभूतिहरू सुनेर मन्त्रमुग्ध हुन्थे ।
घण्टप्रसाद अर्याल तानसेन नगरपालिका ८ (साविक मदनपोखरा गाउँ विकास समिति ९) मदनपोखरामा पिता गिरिधारी अर्याल र माता देवका अर्यालको पुत्रका रूपमा मिति १९८४।६।२९ मा जन्मिएका हुन् । बाल्यकालमै पिता गुमाउन पुगेका कारण माताको माया ममतामा हुर्किए । राणाहरूको विगविगी, जाली फटाहा र शोषकहरूको दवदवाका कारण उनमा विद्रोही चेत जागृत भयो । २००७ सालको राणा विरोधी जनक्रान्तिमा सहभागी भए, २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको जनसङ्गठन नेपाल किसान सङ्घमा आवद्ध भई किसानहरूको आन्दोलनको नेतृत्व गर्न अग्रसर भए । वरिष्ठ राजनीतिज्ञ कमलराज रेग्मी, वासुदेव नेपालसँगको सानिध्यताले सामन्तयुगीन बाना त्यागेर प्रगतिशील र परिवर्तनकामी विचार बोक्न थाले । अन्याय, अत्याचार र शोषणका विरुद्ध भाषण गर्न थाले । वासुदेव नेपाल, खोमनाथ खनाल र घण्टप्रसाद अर्याल रहको एकाइ गठन भयो । त्यसले झारा टण्टा, बेठ–बेगारी, ओलकपात तोड्ने निर्णय ग¥यो । ब्राम्हणहरूले हलो जोत्न हुँदैन भन्ने मान्यताका विरुद्ध २००८ सालमै २५ जना युवकहरू जम्मा गरी माडीफाँटमा हलो जोत्ने अभियानको नेतृत्व गरे । त्यतिखेरको नारा थियो, ‘झारा टण्टा गर्दैनौ, बेठ–बेगारी दिँदैनौ, ओलकपात लैजान्नौ ।’ राजनीतिक चेतनाको प्रभावले आधुनिक विचार र सुधारवादी सोंच बोक्न मद्दत ग¥यो । त्यसकै फलस्वरूप सर्वसाधारणको शिक्षामा पहुँच पु¥याउन २००८ सालमै मदनपोखरामा सरस्वती विद्यालय स्थापना गरे, त्यो २०१६ सालमा शारदा विद्यालयका रूपमा रूपान्तरित भयो ।
गाउँगाउँमा जाली फटाहाहरूले झुटा र जाली तमसुक बनाउने, सोझासाझालाई झुटा मुद्दा लगाउने र घर सम्पत्ति नै सिध्याइदिने गर्दा रहेछन् । जाली फटाहा विरुद्धको कार्यक्रमले गाउँले किसानलाई आकर्षित गर्ने देखेर नेपाल कम्युनिष्ट पार्टीले त्यस अनुरुपका कार्यक्रम घोषणा ग¥यो । घण्टप्रसाद अर्याल पनि गोदाम प्रथा, गोल प्रथा, बाँधा र दास जस्ता कु–प्रथा विरुद्धका उभिए । जाली फटाहा विरोधी आन्दोलनमा पटकपटक जेल गए । यातना सहे । मदनपोखरामा कमलराज रेग्मी, डिपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, राधाप्रसाद घिमिरे, तुल्सीलाल अमात्य जस्ता नेताहरू आउने जाने गर्न थाले । २००८ सालको अन्त्यतिर के. आइ सिंहको दरबार काण्डपछि नेकपामा प्रतिवन्ध लाग्यो । २०१३ सालमा नेकपा माथिको प्रतिवन्ध हट्यो । २०१५ सालको आम निर्वाचनमा पूर्वी पाल्पा क्षेत्र नं. ९४ बाट नेकपा उम्मेदवार कमलराज रेग्मीलाई जिताउन घण्टप्रसाद अर्याल गाउँगाउँमा खटिए । २०१७ साल पुष १ गते संसद विघटन भई पार्टीहरू माथि प्रतिवन्ध लागेपछि केही समय राजनीतिक गतिविधि सुस्तायो ।
घण्टप्रसाद अर्याल जस्ता स्थानीय अगुवाहरूले सामाजिक, शैक्षिक र सांस्कृतिक अभियानहरू थालनी गर्न थाले । बाटो घाटो खन्ने, विद्यालय भवन बनाउने, मुहान सरसफाई अभियान चलाउने, नाङ्गा डाँडापाखामा वृक्षारोपण गर्ने, डहर सफा राख्ने कार्यमा समुदायलाई परिचालन गर्न थाले । आधुनिक ढंगले खेतीपाती गर्ने, भैँसी पाल्ने, राँगो पाल्ने, तरकारी खेती गर्ने जस्ता काम आफैले गरी अरुलाई प्रेरित गर्न लागे । घरघरमा शौचालय, सुधारिएको चुलो निर्माण गोबरग्याँस प्लान्ट स्थापना जस्ता कार्यले समुदायलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउन थाल्यो ।
वि.सं. २०३० को दशकमा भू–क्षय, बाढी पहिरो, वन विनासको तीव्र सङ्कट थिए, त्यो बेला मदनपोखराले एउटा नवप्रवद्र्धनकारी बाटो लियो–‘वन जोगाउने र हराभरा बनाउने । त्यसको जिम्मा स्थानीय समुदायले लिने ।’ वन जंगल र वातावरण क्षेत्रका लागि यो ऐतिहासिक अभियानका मुख्य दूरदर्शी अगुवा घण्टप्रसाद अर्याल नै हुन् । जुकिया खानेपानी मूहानको वरिपरिका राजुको काँडा काटे वापत जरिवाना गराएपछि स्थानीय समुदाय रुखविरुवा काट्ने फाँड्ने प्रवृत्तिबाट हच्किन थाल्यो । त्यसको बिस्तारित रूप मूलगैरा र वाडखोला वनमा सुरु भयो । रुख काटेर नाङ्गै भएको डाँडाकाँडामा पोथ्रापोथ्री विरुवा पनि रहन नपाउने अवस्था थियो । त्यसपछि वनमा पसे वा चरिचरण गरे जरिवाना गर्ने नियम बाँधियो । वनको रूप बिस्तारै फेरिदै गयो । यसरी सामुदायिक वनको अवधारणा, वन संरक्षण र वातावरणीय चेतना नेपालकै लागि एउटा ऐतिहासिक मार्गदर्शन बन्यो ।

सरकारी ऐन, नियम र वन विभागको उपस्थिति बलियो नभएका बखतमा घण्टप्रसाद अर्यालले मदनपोखरामा वातावरणीय जागरणको जग बसाले । सरकारी बजेट र प्राविधिक अनुदानको बाटो नहेरी स्थानीय गाउँलेहरूलाई एकजुट बनाए । रुख काट्न नपाइने, काठ दाउराको निकासी गर्न नहुने, मनपरि ढंगले चरिचरण गराउन नमिल्ने, चराचुरुङ्गी र वन्यजन्तुलाई असर पुग्ने क्रियाकलाप गर्न बन्देजलगाउने जस्ता सामाजिक नियम बाँधे । वनको नियमित रेखदेख र हेरचाहका लागि पालो प्रणाली बाँधियो । गाउँलेहरूको सहभागितामा मानापाथी उठाएर वन हेरालु राख्ने मौलिक परम्परा बसालियो । सरकारी वन वन संरक्षण, विकास र उपयोगमा आम जनसहभागिता जुट्यो । यसरी मदनपोखरामा बनेको वन समिति जसरी नेपालका अन्य ठाउँमा सामुदायिक वन उपभोक्ता समूह गठन हुन थाले । मदनपोखराका घण्टप्रसाद अर्यालको वन जोगाउने शैलीबाट प्रभावित भएर सरकारले वन राष्ट्रियकरण ऐन २०१३ विस्थापित गर्दै वन ऐन २०४९ ल्यायो । वन नियमावली २०५१ जारी गरी समुदायलाई वन हस्तान्तरण गर्न थाल्यो । त्यसपछि मदनपोखराको वन हेर्न देश विदेशबाट मानिसहरू आउन थाले । यसरी सामुदायिक वन, वातावरण र सामाजिक अग्रसरताका कारण घण्टप्रसाद अर्याल आधुनिक मदनपोखरा निर्माणका एउटा बलियो खम्बाका रूपमा स्थापित हुन पुगेका हुन् ।
मदनपोखरामा मूलगैरा र वाडखोला वन मात्र होइन, बराङदीकोहल वनले म्यालमा नासपाती ग्राफ्टिङ, अँधेरी छर्छरे वनले प्रकृतिका कुचीकार गिद्ध संरक्षण, पोसपाखा वनले वैज्ञानिक वन व्यवस्थापन जस्ता कार्य गरी देशैभरि प्रसिद्धि कमाएका छन् । परम्परागत र निर्वाहमुखी खेती गर्दै आएका किसानहरूलाई वि.सं. २०३७ सालदेखि मदनपोखराले आधुनिक र व्यावसायिक खेतीतर्फ आकर्षित गरेको छ । घरघरमा नालामार्फत् पानी पु¥याई सिँचाई सुविधा उपलब्ध गराएको छ । नगदे बालीको रूपमा तरकारी खेती र फलफूल बगैँचा निर्माणमा स्थानीय कृषकलाई अभिप्रेरित गरेर आयआर्जन वृद्धिको बाटो देखाएको छ । २०५२ सालदेखिको मदनपोखराबासीको सपना २०५५ सालमा सामुदायिक रेडियो मदनपोखरा स्थापना भएपछि यसको ख्याति अझ टाढाटाढासम्म पुगेको हो । तत्कालीन मदनपोखरा गाविसको नारा बनेको थियो, ‘मदनपोखराको धन, कृषि, सञ्चार र वन’ ।
२०३६ र २०४६ सालको आन्दोलनमा मदनपोखराका नरनारी लिएर जिल्ला सदरमुकाम तानसेनमा आन्दोलनको नेतृत्व गरेका घण्टप्रसाद अर्याललाई सम्झनामा नराख्ने मानिस कमै होलान् । उनी कमजोरीरहित मानिस थिएनन्, आफ्ना कमजोरीहरूमा घरमै पुगेर क्षमा माग्ने स्वभाव थियो । अघिल्लो दिन चर्को स्वर गड्केका व्यक्ति भोलिपल्ट नम्र र विनयशील स्वरमा झुल्किनु कमजोरीप्रतिको आत्माआलोचित हुने गुण हो । नेपालको संविधान जारी भएपछि, राज्यको पुनर्संरचना र प्रशासनिक इकाइ बदलिएपछि हिजोको मदनपोखरा आज तीनतिर परेको छ । तानसेन ८, ९ र केही भूभाग तानसेन ७ मा परेको छ । जाली फट््याईंका बिरुद्ध जुटेका, विभेदकारी चिन्तन फ्याँकेका र परस्पर मेलमिलापमा रमाएका र मानवीय संवेदना बोकेका बासिन्दाहरू जता जता रहे तापनि सामाजिक सद्भावले एकतावद्ध नै देखिन्छन् । यसको श्रेय घण्टप्रसाद अर्याल र उनका समकक्षीहरूलाई जान्छ ।
समाजसेवी घण्टप्रसाद अर्यालको मिति २०८३।४।२३ गतेका दिन ९९ वर्षको उमेरमा निधन भएको छ । नेपालको सामुदायिक वन, आधुनिक कृषि तथा सामाजिक जागरणका अभियन्ता एवम् आधुनिक मदनपोखराका निर्माता घण्टप्रसाद अर्यालका कीर्तिहरूलाई पछ्याइरहन सकौँ । तेह्रौँ पूण्य तीथिका अवसरमा भावपूर्ण श्रद्धाञ्जली !







