दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति

काठमाडौं । सरकारले आन्दोलनरत दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ता गर्न औपचारिक रूपमा वार्ता समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन् ।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी अधिकारीबीच दिनभर छलफल भएको थियो ।

छलफलका क्रममा महाअभियानले उठाएका माग सम्बोधनका विषयमा सरकारका तर्फबाट औपचारिक वार्ता टोली गठन गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार सरकारले वार्ता समिति गठन गरेको हो ।

सरकारले वार्ताका लागि गरेको आह्वानलाई सम्मान गर्दै महाअभियानका प्रतिनिधिले वार्तासम्बन्धी सरकारी पत्रसमेत ग्रहण गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार छलफलमा महाअभियानका तर्फबाट विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापा सहभागी थिए ।

सरकारले औपचारिक वार्ता समिति गठन गरेसँगै आन्दोलनरत पक्षसँग संवादमार्फत माग तथा विवादित विषयमा समाधान खोज्ने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय