सिसिङ्गाको ५० केभीए ट्रान्सफर्मरको समस्या समाधान

पाल्पा । निस्दी गाउँपालिका–६ अर्चलेको सिसिङ्गामा रहेको ५० केभीए क्षमताको ट्रान्सफर्मर जलेर पूर्ण रूपमा काम नलाग्ने भएपछि अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ । ट्रान्सफर्मरमा समस्या आएपछि सात्दोबाट, सिसिङ्गा, दार्सिङ्बास लगायतका क्षेत्रमा रहेका करिब १५० घरधुरी प्रभावित भएका थिए । विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दासँगै विद्यार्थीहरूलाई पढाइमा समस्या भएको थियो भने मोबाइल चार्ज गर्न, सञ्चारका साधन प्रयोग गर्न तथा दैनिक जीवनका अन्य काममा समेत कठिनाइ उत्पन्न भएको थियो ।

समस्या समाधानका लागि निस्दी–५ गल्धामा रहेको पुरानो ट्रान्सफर्मर ल्याई सिसिङ्गामा जडान गरिएको हो । ट्रान्सफर्मर जडान तथा व्यवस्थापनमा लालीगुराँस सामुदायिक विद्युत् र निस्दी–५ गल्धाका वडा अध्यक्ष दुर्ग बहादुर सोमैले आवश्यक सहयोग तथा सहजीकरण गर्नुभएको थियो । उहाँले स्थानीयको विद्युत् समस्या तत्काल समाधान गर्न उपलब्ध स्रोत–साधनको प्रयोग गरी पुरानो ट्रान्सफर्मर जडान गरिएको बताउनुभयो । ट्रान्सफर्मर जडान कार्यमा स्थानीय युवाहरूको समेत सक्रिय सहभागिता रहेको थियो । स्थानीयको श्रम, सहयोग र समन्वयका कारण छोटो समयमै विद्युत् सेवा पुनः सञ्चालन गर्न सम्भव भएको हो ।

विद्युत् सेवा पुनः सञ्चालन भएपछि विद्यार्थीहरूलाई पढ्न, मोबाइल चार्ज गर्न तथा सञ्चारको सुविधा प्रयोग गर्न सहज भएको स्थानीय खेम बहादुर विकले बताउनुभयो । उहाँका अनुसार विद्युत् अवरुद्ध हुँदा दैनिक जीवन निकै प्रभावित भएको थियो भने अहिले सेवा सुचारु भएपछि स्थानीयमा राहत महसुस भएको छ ।

निस्दी–६ अर्चलेका वडा अध्यक्ष मेख बहादुर सुनारीले समस्या समाधानमा सहयोग, समन्वय र सहजीकरण गर्ने लालीगुराँस सामुदायिक विद्युत्, वडाध्यक्ष, स्थानीय युवा तथा सम्पूर्ण सहयोगीहरूप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ ।

(मिति २०८३ भदौं १ गते सोमबार करुवा अर्धसाप्ताहिकमा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय