पाल्पाका अगुवा पत्रकारकाे बरिष्ठ पत्रकार श्रेष्ठको रिहाइको माग

पाल्पा । समाचार लेखेकै कारण जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापकदेखि वर्तमान सभापति/अध्यक्षसम्मका पत्रकार अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन् ।

उनीहरूले २०८३ साउन २७ गते राति करिब ९ बजे काठमाडौं प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट श्रेष्ठलाई पक्राउ गरेको भन्दै घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । परिवारका अनुसार श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले समाचारको स्रोत खोज्ने क्रममा २७ गते राति करिब १ बजे घरमा, २८ गते बिहान कार्यालयमा र सोही दिन बेलुका पुनः घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा सिपीयू, ल्यापटप, मोबाइल, आइप्याडलगायत सञ्चार उपकरण तथा बालबालिकाले अध्ययनमा प्रयोग गर्ने सामग्रीसमेत जफत गरिएको उनीहरूको भनाइ छ ।

नेपालमा आधिकारिक रूपमा दर्ता भएका सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझे त्यसको नियमन तथा निरुपण गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई रहेको उनीहरूले उल्लेख गरेका छन् । काउन्सिलबाट समाधान हुन नसकेको अवस्थामा कानुनी उपचारका लागि न्यायालय जाने बाटो खुला हुँदाहुँदै कानुनले तोकेको क्षेत्राधिकारलाई बेवास्ता गर्दै प्रहरीमार्फत पत्रकारलाई पक्राउ र खानतलासी गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानको मर्मविपरीत भएको उनीहरूको ठहर छ ।

उनीहरूले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गर्ने सरकारको यस्तो स्वेच्छाचारी शैलीप्रति खेद व्यक्त गरेका छन् । साथै पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गरेका छन् ।

समाचारसँग सम्बन्धित विषय भए प्रेस काउन्सिल नेपालमार्फत कानुनी प्रक्रिया अवलम्बन गरी समाधान खोज्न पनि उनीहरूले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । प्रेस काउन्सिलले समेत आफ्नो क्षेत्राधिकारबारे सरकारलाई स्पष्ट रूपमा ध्यानाकर्षण गराउनुपर्ने उनीहरूको माग छ । उनीहरूले सुरक्षा निकायमार्फत प्रेस नियमन गर्ने सरकारको मनसाय भए प्रेस काउन्सिल नेपाल खारेज गर्नसमेत चुनौती दिएका छन् । अन्यथा कानुनले तोकेको क्षेत्राधिकार र प्रेस स्वतन्त्रताको मर्मविपरीतका यस्ता गतिविधि दोहोरिन नहुने उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापकदेखि वर्तमान सभापति÷अध्यक्षसम्मका मेघराज शर्मा, गोविन्द भट्टराई, झपेन्द्र गहिरे, भगवान भण्डारी, राजेशकुमार अर्याल, रेखिराम राना र कमलराज तिमिल्सेनाले हस्ताक्षर गर्नुभएको छ ।

यसैबीच जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष एवं पुष्पलाला प्रतिष्ठानका सल्लाहकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति पुष्पलाला प्रतिष्ठान पाल्पाले पनि गम्भीर आपत्ति जनाएको छ ।

समाचार लेखेकै कारण २०८३ साउन २७ गते राति करिब ९ बजे काठमाडौं प्रहरी परिसरको टोलीले श्रेष्ठलाई ललितपुरस्थित निवासबाट पक्राउ गरेको भन्दै प्रतिष्ठानले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । पक्राउपछि समाचारको स्रोत खोज्ने क्रममा प्रहरीले २७ गते राति करिब १ बजे श्रेष्ठको घरमा तथा २८ गते बिहान कार्यालयमा र बेलुका पुनः घरमा खानतलासी गरेको परिवारलाई उद्धृत गर्दै प्रतिष्ठानले जनाएको छ ।

खानतलासीका क्रममा सिपीयू, ल्यापटप, मोबाइल, आइप्याडलगायत सञ्चार उपकरण तथा बालबालिकाले अध्ययनमा प्रयोग गर्ने सामग्रीसमेत जफत गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रेस क्षेत्रको नियमनका लागि आधिकारिक निकायका रूपमा प्रेस काउन्सिल नेपाल रहेको अवस्थामा सुरक्षा निकायको आडमा पत्रकारमाथि धरपकड गर्नुका साथै सञ्चार तथा शैक्षिक सामग्री जफत गरिनु अत्यन्तै खेदजनक भएको प्रतिष्ठानको भनाइ छ ।

प्रतिष्ठानले पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न प्रतिष्ठानका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद भट्टराई र अध्यक्ष सन्तोष खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आग्रह गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय