
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा नेतृत्व परिवर्तनको अभियान चलाउनेहरूलाई ‘अराजक’को संज्ञा दिँदै त्यस्ता गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन्।
झापा एमालेले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्दै ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान सञ्चालन गरेर अध्यक्ष हटाउने प्रयास पार्टीभित्र मान्य नहुने बताएका हुन्।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भने।
एमाले अहिले पुनर्गठनको नभई ‘पुनर्जागरण’को चरणमा रहेको उनको दाबी छ। नेतृत्व परिवर्तनलाई मात्रै पुनर्गठन भन्न नमिल्ने बताउँदै ओलीले नीति, गन्तव्य र कार्यक्रम परिवर्तनलाई वास्तविक पुनर्गठनका रूपमा बुझ्नुपर्ने बताए।
‘अहिले पार्टी पुनर्गठन भनिएको छ, वास्तवमा पुनर्गठन होइन,’ ओलीले भने, ‘कुनै जनसंगठन वा कमिटीको पुनर्गठन हुन सक्छ। अधिवेशनहरू भइरहन्छन्, तर त्यसलाई सिंगो पार्टीको पुनर्गठन भन्न मिल्दैन।’
आफ्नो नेतृत्वमाथि उठाइएका प्रश्नको प्रतिवाद गर्दै ओलीले विगतमा पनि आफूविरुद्ध पार्टीभित्र विभिन्न गतिविधि भएको स्मरण गरे। उनले २०२९ देखि २०३२ सालसम्म सीपी मैनालीलगायतले आफूलाई पार्टी सदस्यविहीन बनाएको र २०७७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल पक्षले पार्टीबाट निष्कासन गरेको प्रसंग उल्लेख गरे।
ओलीले आफूले हरेक पटक पार्टीलाई जोगाउँदै आएको दाबी गर्दै आफ्नो नेतृत्वमा समस्या नरहेको संकेत गरे।
सम्बोधनका क्रममा उनले पार्टी सदस्यहरूप्रति पनि असन्तुष्टि व्यक्त गरे। एमालेका सदस्य संख्याभन्दा पार्टीले प्राप्त गरेको मत कम हुनु लज्जास्पद भएको भन्दै उनले पार्टीलाई मतदान नगर्ने सदस्यको नवीकरण नगर्न निर्देशन दिए।
‘सदस्यको नवीकरण गर्नुस्, गैरसदस्यको होइन। नयाँ सदस्य थप्नुस्,’ ओलीले भने।
पार्टीबाट लाभ लिएर नेतृत्व र संगठनप्रति गुनासो गर्नेहरूप्रति पनि ओलीले आक्रोश व्यक्त गरे। उनले पार्टीलाई ‘खाएर गुनासो गर्ने’ केही व्यक्तिलाई ‘किर्ना’को संज्ञा दिँदै एमालेभित्र यस्ता प्रवृत्तिले समस्या सिर्जना गरिरहेको बताए।
ओलीले एमालेभित्र लोकतन्त्र जीवित रहेको र आफूले सबैका कुरा सुन्ने गरेको दाबी पनि गरे। आफूले जीवनमा अहिलेसम्म कडा वचन वा कडा स्वर प्रयोग नगरेको उनको भनाइ थियो।
नेता–कार्यकर्तालाई हप्काएर बेहोस बनाएको भन्ने प्रचारप्रति पनि ओलीले असहमति जनाए। ‘कसैलाई हप्काउन पाइँदैन। कोही मालिक र कोही दास छैन,’ उनले स्पष्ट पारे।







