पाल्पा जिप दुर्घटना : १० घाइतेको नाम सार्वजनिक, चार वर्षीय बालक गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित झुम्सा–सत्यवती–धसमिघा भित्री कच्ची सडकखण्डमा पिकअप जिप दुर्घटना हुँदा घाइते भएका १० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ।

दुर्घटनामा तिनाउ गाउँपालिका–३ सत्यवतीका ३६ वर्षीय खामबहादुर डिसुवा मगर, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ का १० वर्षीय सन्तोष रेश्मी, तिनाउ गाउँपालिका–३ का ५१ वर्षीय नरसिंह डिसुवा मगर र ३६ वर्षीया शर्मिला डिसुवा मगर घाइते भएका छन्।

त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ पोखराबारीकी ३६ वर्षीया दुर्गा थापा र उनका ४ वर्षीय छोरा डेसिन थापा घाइते भएका छन्। डेसिनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यस्तै माथागढी गाउँपालिका–५ का ४१ वर्षीय मनबहादुर गाहा, बुटवल उपमहानगरपालिका–१८ मोतीपुरकी ३६ वर्षीया सपना राना, जिप चालक माथागढी गाउँपालिका–५ का ३८ वर्षीय देवकुमार घर्ती तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–८ का ३५ वर्षीय भुवनसिंह रेश्मी घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माथागढी गाउँपालिका–५ बमसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय