
पाल्पा । तिनाउ गाउँपालिकाले आन्तरिक राजस्व संकलनमा अधिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा ५० दशमलव ५१ प्रतिशतले वृद्धि भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा चार करोड ५८ लाख १२ हजार २८२ रुपैयाँ राजस्व संकलन गरेकोमा गत आर्थिक वर्षमा ६ करोड ८९ लाख ९४ हजार २३० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सबैभन्दा बढी राजस्व अन्य क्षेत्रको आय शीर्षकबाट एक करोड ८४ लाख ४५ हजार २२० रुपैयाँ संकलन गरेको छ । यस्तैगरी अन्य प्रशासनिक सेवा शुल्कबाट एक करोड ८४ लाख १५ हजार ११९ रुपैयाँ, अन्य सेवा शुल्क तथा बिक्रीबाट एक करोड ७५ लाख ३६ हजार ५० रुपैयाँ, दहत्तर–बहत्तर शुल्कबाट एक करोड सात लाख १८ हजार २२६ रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाका लेखा अधिकृत शंकर पुरीले जानकारी दिनुभयो ।
उहाँले भूमिकर/मालपोतबाट नौ लाख १६ हजार ९३२ रुपैयाँ, सिफारिस दस्तुरबाट पाँच लाख ७० हजार ८ सय रुपैयाँ, बेरुजु असुलीबाट पाँच लाख ६३ हजार ७४० रुपैयाँ, वहाल करबाट तीन लाख ७८ हजार ६११ रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबाट तीन लाख ७१ हजार ८ सय रुपैयाँ, सम्पत्ति करबाट दुई लाख ४४ हजार ७०४ रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट दुई लाख १४ हजार १५० रुपैयाँ, विज्ञापन करबाट एक लाख ८३ हजार ८९० रुपैयाँ, व्यवसाय करबाट एक लाख ६४ हजार ५ सय रुपैयाँ, नक्सापास दस्तुरबाट एक लाख २८ हजार ८८५ रुपैयाँ, अन्य दस्तुरबाट ८४ हजार रुपैयाँ, परीक्षा शुल्कबाट ४१ हजार ३ सय रुपैयाँ, अन्य मनोरञ्जन करबाट १० हजार रुपैयाँ, अन्य करबाट पाँच हजार ९०० रुपैयाँ तथा न्यायिक दस्तुरबाट ४ सय रुपैयाँ राजस्व संकलन भएको बताउनुभयो ।
यस्तैगरी वडागत राजस्व संकलनतर्फ वडा नं.२ ले सबैभन्दा बढी २० लाख ५५ हजार ६७४ रुपैयाँ राजस्व संकलन भएको छ ।
गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले राजस्व वृद्धि हुनु स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत भएको बताउनुभयो । उहाँले करदातामैत्री सेवा, राजस्वको दायरा विस्तार तथा पारदर्शी वित्तीय व्यवस्थापनका कारण यो उपलब्धि हासिल भएको बताउनुभयो । आन्तरिक स्रोतबाट प्राप्त रकमलाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा नागरिकका आधारभूत सेवामा प्रभावकारी रूपमा परिचालन गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउने, करदातालाई समयमै सेवा उपलब्ध गराउने, बेरुजु असुलीलाई प्रभावकारी बनाउने र कर सचेतना बढेका कारण राजस्व संकलनमा वृद्धि भएको बताउनुभयो । आगामी वर्षमा पनि आन्तरिक आयका नयाँ स्रोत पहिचान गर्दै राजस्व संकलनलाई अझ प्रभावकारी बनाइने उहाँको भनाइ छ ।
(मिति २०८३ साउन २५ गते सोमबार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)







