
पाल्पा । निस्दी गाउँपालिकाबाट गत आर्थिक वर्ष २०८२/८३ मा सात करोड ५२ लाख १० हजार रुपैयाँ बराबरका खसीबोका बिक्री भएका छन् । गाउँपालिकाभित्रका कृषकले विभिन्न सहकारीमार्फत ५ हजार १४ वटा खसीबोका बिक्री गरेका हुन् ।
गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख ओमबहादुर मश्राङ्गीका अनुसार गत वर्ष खसीबोकासँगै ३१ हजार ६५९ केजी बंगुर मासु तथा ५४५ वटा बंगुरका पाठापाठी पनि बिक्री भएका छन् । बंग्रको मासु बिक्रीबाट एक करोड २६ लाख ६७ हजार ७ सय रुपैयाँ तथा पाठापाठी बिक्रीबाट ३८ लाख १५ हजार रुपैयाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।
निस्दीमा उत्पादन भएका खसीबोका रामपुर, कावासोती, पोखरा, बुटवल र नारायणगढसम्म बिक्री हुने गरेका छन् । खसीबोकाको माग उच्च रहेकाले बजारको कुनै समस्या नरहेको शाखा प्रमुख मश्राङ्गीले बताउनुभयो ।
हाल गाउँपालिकामा पाँच वटा सहकारीले खसीबोका खरिद तथा बिक्री गर्दै आएका छन् । तीमध्ये गाल्धा सामाजिक उद्यमी महिला सहकारीले सबैभन्दा बढी कारोबार गरेको छ । सहकारीका व्यवस्थापक दिलमाया सारूका अनुसार सहकारीले ४९ हजार ८६२ केजी खसीबोका खरिद गरी दुई करोड ५१ लाख ३४ हजार ३८० रुपैयाँमा बिक्री गरेको छ ।
पशुपालन प्रवद्र्धनका लागि गाउँपालिकाले वडास्तरमा पशु प्राविधिक परिचालन, बाख्रा तथा बंगुरको खोर सुधार, भकारो सुधार, आवश्यक औषधि वितरण तथा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले बताउनुभयो । उहाँले यस्ता कार्यक्रमका कारण व्यावसायिक पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएको बताउनुभयो । हाल गाउँपालिकाभित्र ६५ भन्दा बढी व्यावसायिक पशुपालन फार्म सञ्चालनमा रहेका छन् ।
गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाको नियमित कार्यक्रमसँगै संघीय सरकारबाट प्राप्त एक करोड ८० लाख रुपैयाँ विशेष अनुदानमार्फत महिला कृषि तथा पशुपालन आयआर्जन कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । गत आर्थिक वर्षमा गाउँपालिकाले बाख्रापालक कृषकलाई बिक्रीका आधारमा प्रति केजी १२ रुपैयाँका दरले अनुदानसमेत उपलब्ध गराएको अध्यक्ष सारुको भनाइ छ । (करूवा पत्रिकाबाट)







