एमाले पाल्पाको जनसंगठन संयन्त्रको बैठक सम्पन्न

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पा जिल्ला जनसंगठन समन्वय संयन्त्रको बैठक शनिबार सम्पन्न भएको छ । एमाले पाल्पाका जिल्ला अध्यक्ष एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक ओमबहादुर घर्तीमगरको अध्यक्षतामा बसेको बैठकमा पार्टीका २२ वटा जनसंगठनहरूमध्ये १६ वटा संगठनका प्रमुख तथा प्रतिनिधिहरूले संगठनको हालसम्मको कार्य प्रगति र भागी योजनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नारायण प्रसाद आचार्यले पार्टीका जनसंगठनहरू नर्सरी जस्तै भएको र यिनकै सक्रियता एवं क्रियाशीलताका आधारमा योग्य नेतृत्व र बलियो जनमतको निर्माण हुने धारणा व्यक्त गर्नुभयो । उहाँले जनसंगठनहरू जति सुदृढ र अनुशासित हुन्छन्, पार्टीको आधार स्तम्भ त्यति नै मजबुत बन्ने भएकाले यस विषयलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय लेखा आयोगका उपाध्यक्ष धनेन्द्रराज घिमिरेले जनसंगठनको परिचालन र व्यवस्थित कार्यशैलीले नै पार्टीलाई जनतासँग जोड्ने मुख्य पुलको काम गर्ने बताउनुभयो । उहाँले पार्टी निर्माण र विस्तारमा जनसंगठनहरूको भूमिका निर्णायक हुने भन्दै आ–आफ्नो क्षेत्रमा थप सक्रिय भई संगठन विस्तारमा जुट्नु पर्ने बताउनुभयो ।

बैठकले संगठनलाई थप सुदृढ र चुस्त बनाउन कार्ययोजनासमेत पारित गरिएको छ । जसअनुसार आगामी भाद्र मसान्तभित्र सबै जनसंगठनहरूको जिल्ला समिति बैठक सम्पन्न गर्ने, अवधि पुगेका जनसंगठनहरूको जिल्ला अधिवेशन असोज महिनाभित्र सम्पन्न गर्ने, पालिका स्तरीय जनसंगठनको भेला, बैठक तथा अधिवेशन आगामी कार्तिक मसान्तभित्र सम्पन्न गर्ने, वडा स्तरीय बैठक र अधिवेशन आगामी मंसीर र पुस महिनाभित्र सम्पन्न गर्ने तय गरिएको छ । संगठनको वैचारिक तथा सांगठनिक शुद्धीकरणका लागि आगामी माघ महिनामा जिल्ला स्तरीय जनसंगठनको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र फागुन महिनामा सञ्चालित सम्पूर्ण गतिविधिहरूको समग्र समीक्षा बैठक बस्ने गरी कार्ययोजना निर्माण गरिएको संयोजक घर्तीमगरले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय