
गुल्मी। गुल्मीमा पछिल्लो केही समययता विभिन्न स्थानबाट लगातार बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा घरेलु हतियार फेला पर्न थालेका छन्। पछिल्लो पटक प्रहरीले मदाने गाउँपालिका–२, बाँझकटेरीस्थित उर्लाबारीचौरबाट एक थान बेसाबुत भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार साउन २२ गते साँझ गस्तीमा खटिएको प्रहरी टोलीले उर्लाबारीचौरमा ढुङ्गाको बीचमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बन्दुक फेला पारेको हो।
यसअघि साउन १९ गते रेसुङ्गा नगरपालिका–२, धागिथुमबाट प्लास्टिकको सेतो बोरामा राखिएको एक थान भरुवा बन्दुक बरामद भएको थियो। सोही क्रममा रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सारस्थित मुसीडाँडामा पानी ट्याङ्की नजिकबाट पनि एक थान भरुवा बन्दुकसँगै बारुद, छर्रा र क्याप बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, असार ३१ गते रेसुङ्गा नगरपालिका–१०, देउराली–सिमिचौर सडकखण्डमाथिको झाडीमा रातो फाइबरको झोलाभित्र लुकाएर राखिएको अवस्थामा एक थान घरेलु भरुवा पेस्तोल फेला परेको थियो।
प्रहरीका अनुसार पछिल्लो केही समयमै गुल्मीका विभिन्न स्थानबाट चार थान बेवारिसे हतियार बरामद भइसकेका छन्।
फेला परेका हतियार कसले र किन लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले हतियारसँग सम्बन्धित व्यक्तिको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।







