पाल्पामा तीन वर्षमा २६९ सवारी दुर्घटना, ९३ जनाको ज्यान गयाे

तानसेन। पाल्पा जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा २६९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी ९३ जनाले ज्यान गुमाएका छन् भने सयौँ मानिस घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजेन्द्र खड्काका अनुसार तीव्र गति, साँघुरा तथा घुमाउरा सडक, सवारी साधनको बढ्दो चापलगायत कारणले जिल्लामा सडक दुर्घटना र मानवीय क्षति बढ्दै गएको हो।

कार्यालयका अनुसार तीन आर्थिक वर्षको अवधिमा दुर्घटनामा ४८९ वटा सवारी साधन संलग्न भएका छन्। दुर्घटनामा परी १२४ जना गम्भीर र ३९१ जना सामान्य घाइते भएका छन्।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा पाल्पामा ३८ वटा सवारी दुर्घटना भएका थिए। उक्त वर्ष दुर्घटनामा परी ३६ जनाको मृत्यु, ४२ जना गम्भीर घाइते र ४४ जना सामान्य घाइते भएका थिए।

त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटनाको संख्या बढेर ८५ पुगेको थियो। उक्त वर्ष १५० वटा सवारी साधन दुर्घटनामा परेका थिए। दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या भने घटेर २७ मा झरेको थियो। सो वर्ष ३४ जना गम्भीर र १४८ जना सामान्य घाइते भएका थिए।

यसैगरी, आर्थिक वर्ष २०८२/०८३ मा सवारी दुर्घटनाको संख्या थप बढेर १४६ पुगेको छ। उक्त अवधिमा १८६ वटा सवारी साधन दुर्घटनामा परेका थिए भने ३० जनाको मृत्यु भएको थियो। दुर्घटनामा ४८ जना गम्भीर र १९९ जना सामान्य घाइते भएका छन्।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख खड्काका अनुसार पाल्पामा मोटरसाइकल तथा जिप–कार बढी दुर्घटनामा पर्ने गरेका छन्।

पाल्पाका अधिकांश सडक साँघुरा तथा घुमाउरा हुनु, सवारी साधनको अत्यधिक चाप बढ्नु, ट्राफिक प्रहरीको जनशक्ति न्यून हुनु तथा आधुनिक प्रविधिमैत्री उपकरणको अभावलगायत कारणले जिल्लाको ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको कार्यालयले जनाएको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि चालकले गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पूर्ण पालना गर्ने तथा सडकको अवस्थाअनुसार सावधानी अपनाउनुपर्नेमा ट्राफिक प्रहरीले जोड दिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय