
पाल्पा । तिनाउ गाउँपालिका–३ स्थित पैठेडाँडा चेकपोस्टबाट प्रहरीले अवैध मदिरा, एउटा कार र दुई जना भारतीय नागरिक नियन्त्रणमा लिएको छ ।
विहीबार करिब ११ बजेको समयमा प्रहरी चौकी दोभान पाल्पाबाट प्रहरी सहायक निरीक्षक खिल बहादुर रानाको कमाण्डमा खटिएको ३ जनाको टोलीले सवारी साधन तथा पैदल यात्रीको चेकजाँच गर्ने क्रममा उक्त अवैध मदिरा बरामद गरेको हो ।
भारतको गोरखपुरबाट पोखरातर्फ जाँदै गरेको युपी ३२ एसटी ४२८६ नम्बरको भारतीय कारलाई जाँच गर्दा बिना भन्सार ल्याइएका ओल्ड मंक ब्रान्डका ७५० एमएलका ६११ बोतल र सिग्नेचर ब्रान्डका ७५० एमएलका १२ बोतल गरी कुल ६२३ बोतल मदिरा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बरामद गरिएको मदिराको अनुमानित बजार मूल्य सात लाख एकाउन्न हजार दुई सय रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले जानकारी दिनुभयो ।
प्रहरीले अवैध मदिरा र कारसहित कार चालक भारतको लखनउ बस्ने ३७ वर्षीय एमा मोदिन र कारमा सवार सोही स्थानका ४३ वर्षीय शिवनाथ मौर्यालाई नियन्त्रणमा लिएको छ । बरामद मदिरा, सवारी साधन र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी दोभानको नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।







