
तानसेन । जिल्लामा विगत तीन आर्थिक वर्षको अवधिमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा ९३ जनाले अकालमै ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजेन्द्र खड्काले बताउनुभएको छ । उहाँले तीव्र गति, साघुँरा सडक र सवारी साधनको निरन्तर बढ्दो चापका कारण सडक दुर्घटना र मानवीय क्षति हुनेगरेको बताउनुभयो ।
तीन वर्षको अवधिमा दुर्घटनामा संलग्न ४८९ वटा सवारी साधन ठोक्किएका वा पल्टिएका छन् भने दुर्घटनामा परी १२४ जना गम्भीर र ३९१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
कार्यलयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कुल ३८ वटा सवारी दुर्घटना भएका थिए । सो अवधिमा दुर्घटनाका कारण ३६ जना मानिसको मृत्यु भएको थियो । यसैगरी, सोही वर्ष ४२ जना मानिस गम्भीर घाइते र ४४ जना सामान्य घाइते भएको थिए । त्यस्तै, आर्थिक वर्ष २०८१÷०८२ मा दुर्घटनाको संख्या बढेर ८५ पुगेको थियो । जसमा १५० वटा सवारी साधन दुर्घटनामा परेका थिए । सवारी दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या भने घटेर २७ मा झरेको थियो । यो वर्ष गम्भीर घाइते हुनेको संख्या ३४ र सामान्य घाइते हुनेको संख्या १४८ थियो । यसैगरी, गत आर्थिक वर्ष २०८२÷०८३ मा दुर्घटनाको संख्या बढेर १४६ पुगेको छ । यस अवधिमा कुल १८६ वटा सवारी साधन दुर्घटनामा परेका थिए । यस वर्ष दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ । सो अवधिमा ४८ जना गम्भीर घाइते र १९९ जना मानिस सामान्य घाइते भएका थिए । तथ्यांकलाई हेर्दा सबैभन्दा बढी मोटरसाइकल र जिप÷कार दुर्घटनामा बढी पर्ने गरेको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।
उहाँले सोही अवधिमा ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने कुल २७ हजार ९२३ वटा सवारी साधनलाई कारबाही गरेको छ, जसबाट २ करोड ३६ लाख ४२ हजार ५०३ रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिनुभयो ।
जिल्लामा मानवीय क्षति र दुर्घटना न्यूनीकरणका लागि प्रहरी निरन्तर सक्रिय छ । ट्राफिक प्रमुख खड्काका अनुसार सीमित स्रोत–साधनका बाबजुद सरोकारवाला निकायहरूसँगको समन्वयमा जनसचेतना कार्यक्रमलाई तीव्रता दिइएको छ । दुर्घटना रोक्नका लागि नियमित सवारी साधन जाँच, लागूपदार्थ (लापसे) तथा मादक पदार्थ (मापसे) सेवन गरेर सवारी चलाउनेविरुद्धको चेकिङलाई कडाइका साथ अघि बढाइएको छ । पूर्वाधार र प्रविधिको अभावले काममा अप्ठ्यारो परेको ट्राफिक प्रमुख खड्काको भनाइ छ । पाल्पाका साघुँरा तथा घुमाउरा सडकहरू, सवारी साधनको अत्यधिक चाप र ट्राफिक प्रहरीसँग प्रविधिमैत्री आधुनिक उपकरणको कमीले कार्यसम्पादनमा चुनौती थपिएको उहाँले बताउनुभयो ।







