
पाल्पा । खानेपानी तथा सरसफाई कार्यालय पाल्पाले गत आर्थिक वर्ष २०८२/८३ मा २४ वटा खानेपानी आयोजनाको काम सम्पन्न गरेको जनाएको छ । खानेपानी विस्तार तथा पूर्वाधार निर्माणतर्फ गत वर्ष महत्वपूर्ण उपलब्धि हासिल गरेको कार्यालयले जनाएको छ ।
सञ्चालन गरिएका १ सय ८२ मध्य २४ वटा खानेपानी आयोजना पूर्ण रूपमा सम्पन्न भई जिल्लाका १ हजार ५९८ घरधुरीका ५ हजार ५ सय ९३ जना नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको कार्यालय प्रमुख गुणनिधि पोखरेलले जानकारी दिनुभयो । उहाँले वार्षिक प्रगति विवरण अनुसार एक वर्षको अवधिमा १५७ किलोमिटर पाइप विस्तारका साथै ३७ वटा इन्टेक, १ वटा लिफ्ट खानेपानीको सम्पवेल, ७४ किलोमिटर पाइपलाइन जडान (ट्रान्समिसन) र ११६ किलोमिटर डिष्ट्रिब्युसन पाइप लाइन जडान गर्न सफल भएको बताउनुभयो । यसैगरी, ३७ वटा आर.सी.सी. पानी टङ्की र १५९८ वटा निजी धारा निर्माण सम्पन्न भएका प्रमुख पोखरेलको भनाइ छ ।
कार्यालयको आर्थिक प्रगतितर्फ कार्यालयले कुल १९९ वटा आयोजनाका लागि विनियोजित १८ करोड २८ लाख ८ हजार ५१ बजेटमध्ये रु. २ करोड ८७ लाख २६ हजार रोक्का भई रु. १५ करोड ४१ लाख २५ हजार कायम भएको थियो । जसमध्ये १४ करोड १९ लाख ७४ हजार खर्च भई रोक्का पछिको बजेटको ९२.१२ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ भने समग्र भौतिक प्रगति ९९.३३ प्रतिशत पुगेको कार्यालयले जनाएको छ ।
बजेट तथा जनशक्तिको सीमितताका बाबजुद अघिल्ला वर्षका अधुरा योजनाहरूलाई समेत प्राथमिकतामा राखेर काम गर्दा भौतिक उपलब्धि हासिल गर्न सम्भव भएको कार्यालय प्रमुख पोखरेलको भनाइ छ । गएको वर्ष १० हजारसम्मका ६२ वटा, ५ लाख भन्दा कमका २७ वटा, ६ देखि १० लाखसम्मका ४९ वटा र १० लाख माथिका ४४ वटा योजना रहेको कार्यालयले जनाएको छ ।







