
पाल्पा । जिल्लाका सात वटा लिफ्टिङ खानेपानी योजनामा पानी शुद्धीकरण मेसिन फिल्टर प्लान्ट जडान गर्ने काम सुरु भएको खानेपानी तथा सरसफाई कार्यालय पाल्पाका प्रमुख गुणनिधि पोखरेलले बताउनुभएको छ । नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड अनुसार नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले प्लान्ट जडान गरिएको हो । संघीय सरकारको विशेष अनुदानअन्तर्गत खानेपानी गुणस्तर सुधार कार्यक्रम मार्फत जिल्लाका जोखिमयुक्त सात स्थानमा फिल्टर प्लान्ट, क्लोरिन मेसिन जडान गर्ने योजना अनुसार ५ स्थानमा सकिएको र दुई स्थानमा यस वर्ष गरिने उहाँले बताउनुभयो ।
जिल्लाको पूर्वखोला गाउँपालिका–५ को पंधेरा खोला लिफ्टिङ खानेपानी योजनाबाट १७० घरधुरी, रम्भा गाउँपालिका–५ को फेदीखोला लिफ्टिङ खानेपानी योजनाबाट १८२ घरधुरी, माथागढी गाउँपालिका–१ को अलैँचीगैरा लिफ्टिङ खानेपानी योजनाबाट ९१ घरधुरी, बगनासकाली गाउँपालिका–१ गापटुङस्थित फोक्सेयार लिफ्टिङ खानेपानी योजनाबाट १४१ घरधुरी, रैनादेवी छहरा गाउँपालिका–४ को उर्लेनी लिफ्टिङ खानेपानी योजनाबाट २४० घरधुरी, रिब्दीकोट गाउँपालिका–४ को हटिया–काफलबुटा लिफ्टिङ खानेपानी योजनाबाट ८० घरधुरी तथा तानसेन नगरपालिका–११ को तिलाहार लिफ्टिङ खानेपानी योजनाबाट ७० घरधुरी गरी ९ सय ७४ घरधुरीले मापदण्ड अनुसारको पानी प्राप्त गरेको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो । उहाँले सरकारको प्राथमिकता सबै नागरिकलाई आधारभूत खानेपानीको पहुँच पु¥याउनु मात्र नभई क्रमिक रूपमा गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनु रहेको समेत बताउनुभयो ।
वर्षायाम तथा अन्य समयमा पानी प्रदूषित भई पानीजन्य रोग फैलिने जोखिम उच्च हुने भएकाले जिल्लाका सात जोखिमयुक्त लिफ्टिङ योजनामा फिल्टर प्लान्ट र क्लोरिन मेसिन जडान गरिएको प्रमुख पोखरेलको भनाइ छ । कार्यक्रमका लागि करिब २ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा १ करोड ४४ लाख ९४ हजार रुपैयाँ मा ठेक्का सम्झौता भई उपकरण जडान भएको कार्यालयले जनाएको छ ।
फोक्सेयार लिफ्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष गुनबहादुर गाहाले योजना सञ्चालनमा आएपछि उपभोक्ताले सुरक्षित पानी उपभोग गर्न पाएको बताउनुभयो । उहाँले फिल्टर र क्लोरिन प्रणाली जडान भएपछि पानीको गुणस्तरमा सुधार आएको र उपभोक्ताहरु बिरामी पर्न छाडेको बताउनुभयो । उपभोक्ता नेत्रकुमारी सिंजालीले पहिले खोलाको मुहानकम सडकको पानी पस्दा पानी निकै धमिलो हुने गरेपनि अहिले मेसिन जडान भएपछि सफा र शुद्ध पानी खान पाएको बताउनुभयो ।
नेपालमा करिब २५ प्रतिशत नागरिकले मात्र मापदण्डअनुसार शुद्धीकरण गरिएको खानेपानी उपभोग गर्ने गरेका छन् भने लुम्बिनी प्रदेशमा यो अनुपात करिब ७ प्रतिशत रहेको छ । यस कार्यक्रमले जिल्लामा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्दै पानीजन्य रोग न्यूनीकरण र नागरिकको स्वास्थ्य संरक्षणमा योगदान पु¥याउने अपेक्षा कार्यालयले गरेको छ ।
(मिति २०८३ साउन १८ गते सोमबार करुवा अर्धसाप्ताहिक पत्रिकाका प्रकाशित समाचार)







