प्रेस चौतारी पाल्पाको समीक्षा बैठक

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाको गत वर्षको समीक्षा तथा आगामी कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।

कार्यक्रमका नेकपा एमालेका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज नारायणप्रसाद आचार्यले पत्रकारिता निष्पक्ष, तथ्यपरक र जनउत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणका गतिविधिलाई तुलनात्मक अध्ययनका आधारमा जनतासामु प्रस्तुत गर्नुपर्ने बताउनुभयो । पत्रकारहरूले स्थानीय तहमा रहेका आयआर्जनका सम्भावना, आवाजविहीन समुदायका समस्या तथा अनियमितताका विषयमा सत्यतथ्य खोजी गरी समाचार सम्प्रेषण गर्नुपर्ने केन्द्रीय सदस्य आचार्यको भनाइ थियो ।

लुम्बिनी प्रदेशसभा सदस्य खेमबहादुर सारुले प्रेस चौतारी व्यवस्थित र सक्रिय संगठनका रूपमा स्थापित भएको उल्लेख गर्दै जिल्लामा भएका विकास, परिवर्तन र उत्पादनका क्षेत्रलाई प्राथमिकताका साथ उजागर गर्नुपर्ने बताउनुभयो । उहाँले रचनात्मक, समाधानमुखी र विकासमुखी समाचारलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

नेकपा एमाले पाल्पाका जिल्ला अध्यक्ष ओमबहादुर घर्ती मगरले प्रेस चौतारीको सक्रियता अन्य जनवर्गीय संगठनका लागि पनि अनुकरणीय रहेको बताउनुभयो । उहाँले पत्रकारिताको स्वतन्त्रता कायम राख्दै भएका कामलाई यथार्थ रूपमा नागरिकसमक्ष पु¥याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सञ्चार क्षेत्रको विकास र संरक्षणका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । सीमित स्रोत–साधनका बाबजुद नागरिकको आवश्यकता र मागलाई केन्द्रमा राखेर काम भइरहेको उल्लेख गर्दै उहाँले सकारात्मक तथा जनहितका कामहरूको निष्पक्ष प्रचारप्रसार गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

यस्तै नेकपा एमाले रम्भा गाउँकमिटीका अध्यक्ष धनबहादुर पौडेल, माथागढी गाउँकमिटीका अध्यक्ष मानबहादुर राना तथा एमाले रिब्दीकोट गाउँकमिटीका अध्यक्ष विष्णुप्रसाद खनालले सामाजिक सञ्जालमा फैलिने मिथ्या र भ्रामक सूचनाको तथ्यसहित खण्डन गर्दै सही सूचना प्रवाह गर्न सञ्चारकर्मी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । संगठनको सदस्यता लिएर जिम्मेवारी पूरा नगर्ने तथा संगठन र पार्टीविरुद्ध गतिविधि गर्ने प्रवृत्तिप्रति पनि सचेत रहनुपर्ने उहाँहरूको भनाइ थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विश्वकर्मा, प्रदेश कमिटी सचिव कृष्ण पोखरेल, जिल्ला सहसचिव भुवन रायमाझी र विजयकुमार बौडेललगायतले स्थानीय सरकार र पार्टीले गरेका सकारात्मक कामको समयमै सूचना उपलब्ध गराउने वातावरण बनाउनुपर्ने, सञ्चारमाध्यम सवलीकरण योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने तथा पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

प्रेस चौतारी नेपाल पाल्पाका जिल्ला अध्यक्ष कृष्ण कार्कीले गत वर्ष संगठनले गरेका गतिविधि, समन्वय, सहकार्य र सहजीकरणबारे समीक्षा प्रस्तुत गर्दै पत्रकार तथा सञ्चारगृहका वास्तविक समस्या पहिचान गरी संरक्षण, सहभागिता र सहयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

बैठकले आगामी साउन ३१ गतेभित्र सदस्यता नवीकरण सम्पन्न गर्ने निर्णय गरेको छ । साथै आगामी छ महिनाभित्र सदस्यहरूको क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, संगठनको आर्थिक स्रोत सुदृढ गर्ने तथा नयाँ पत्रकार उत्पादनका लागि तालिम सञ्चालन गर्ने कार्ययोजना पारित गरेको सचिव दयाराज न्यौपानेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय