
पाल्पा । श्रीनगर यातायात सेवा कम्पनी प्रा.लि.को दोस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष डिलबहादुर ढुंगाना क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीले पु¥याएको योगदान, भावी कार्ययोजना तथा सार्वजनिक यातायात क्षेत्रका विद्यमान समस्याहरूबारे जानकारी गराउनुभयो । अध्यक्ष क्षेत्रीले संस्थाले पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, स्याङ्जा, रूपन्देहीसहित देशका प्रमुख शहरहरूमा सहज यातायात पहुँच पु¥याउँदै आएको बताउनुभयो । कम्पनीका ६० प्रतिशतभन्दा बढी सवारी साधनहरू पाल्पाका ग्रामीण तथा जोखिमपूर्ण सडकहरूमा सञ्चालित रहेको उहाँले बताउनुभयो ।
आगामी दिनमा कम्पनीलाई पूर्ण डिजिटलाइज बनाउन मोबाइल एप्समार्फत सेवा दिने तयारी अन्तिम चरणमा पुगेको, शव वाहन सञ्चालनमा ल्याइने, वातावरणमैत्री विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरिने, र पोखरा, काठमाडौँ, चितवन, दाङ तथा नेपालगन्जलगायतका क्षेत्रमा अत्याधुनिक पर्यटकमैत्री सवारी साधन थपिने योजना रहेको अध्यक्ष क्षेत्रीले सार्वजनिक गर्नुभयो ।
उद्घाटन सत्रमा लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले जिल्लामा छरिएर रहेका यातायात व्यवसायीहरूलाई एकीकृत गरी कम्पनीका रूपमा स्थापित गर्नु आफैँमा सह्रानीय कदम भएको बताउनुभयो । सार्वजनिक यातायात क्षेत्रमा प्रा.लि.ले खेलेको भूमिकाको प्रशंसा गर्दै सांसद रानाले संस्थालाई दिगो र भरपर्दो बनाउन लोकतान्त्रिक आचरण, पारदर्शिता, इमानदारी र निरन्तर क्रियाशीलता आवश्यक रहनेमा जोड दिनुभयो ।
तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले यातायात व्यवसायीहरूले यात्रु ओसारपसार मात्र नगरी ग्रामीण क्षेत्रका कृषि उपजहरूलाई बजारसम्म पु¥याउन महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । यसले ग्रामीण अर्थतन्त्र उकास्न र स्थानीयको आयआर्जन बढाउन ठूलो मद्दत पुगेको उहाँको भनाइ थियो।
नगरपालिकाले हाल फुटपाथ, पार्किङ तथा छाडा चौपाया व्यवस्थापनमा तीव्रताका साथ काम गरिरहेको जानकारी गराउँदै प्रवक्ता कार्कीले यसमा यातायात व्यवसायीहरूको सहयोगको अपेक्षा गर्नुभयो । साथै, भाडादर समायोजनका विषयमा सरोकारवालाहरूसँग समन्वय गरी वैज्ञानिक भाडादर कायम गर्न र तानसेनको पर्यटन विकासका लागि होटल व्यवसायी तथा चालकहरूसँग छलफल गरी सहकार्य गर्न नगरपालिका सधैँ तयार र प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
उद्घाटन सत्रमा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले साधारण सभा तथा अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । वक्ताहरूले स्थापनाकालदेखि हालसम्म कम्पनीले पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा यात्रुहरूलाई अनिवार्य टिकटको व्यवस्था मिलाउन, सवारी साधनहरूको नियमित प्राविधिक चेकजाँच गर्न, धेरै पैसा कमाउने लोभमा मापदण्ड विपरीत क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने परिपाटी अन्त्य गर्न, र ट्राफिक नियमको पूर्ण पालना गराउन विशेष ध्यान दिन सुझाव दिएका थिए ।
सभाको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै दुर्घटनामा परेका चालक फष्ट बहादुर आलेलाई ५ लाख रुपैयाँ, नेपाल रेडक्रस सोसाइटी पाल्पालाई ब्लड बैंक स्थापनाका लागि ५० हजार रुपैयाँ र दुवै मृगौला फेल भई उपचाररत कम्पनीका दुर्घटना संयोजक यमबहादुर बुढाथोकीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुका साथै चालक तथा कर्मचारीलाई सम्मान गरिएको कम्पनी सचिव भविन्द्र गौतमले जानकारी दिनुभयो । उद्घाटन सत्रपछि बसेको कम्पनीको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।







