पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध, मेची राजमार्ग पूर्ण ठप्प

काठमाडौं – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको छ।

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

त्यसैगरी, कान्तिलोकपथ मा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा प्रतिबन्ध कायम गरिएको छ।

इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग मा लगातारको वर्षाले सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत अरनिको राजमार्ग को जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटार स्थित लामासाँघु–रामेछाप सडकखण्ड मा सामाकोशी खोलाले सडक कटान गरेपछि उक्त मार्ग पनि बन्द भएको छ।

त्यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे मा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडा क्षेत्रमा पहिरो खसेपछि लार्के–बेनीघाट कच्ची सडक समेत पूर्ण रूपमा बन्द भएको छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न, सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई अनुरोध गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय