
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जसहित तराई–मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई जोगाउन सबै पक्षले साझा पहल गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलमा वर्तमान परिस्थितिलाई संवाद, संयम र सहकार्यका माध्यमबाट समाधान गर्नुपर्ने विषयमा विचार आदान–प्रदान भएको थियो।
छलफलका क्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले सरकारले वर्तमान विषम परिस्थितिमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आमनागरिकलाई साथमा लिएर समस्याको समाधान खोज्नुपर्ने धारणा राखेका थिए।
राष्ट्रपति कार्यालयले सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबै पक्षको रचनात्मक भूमिका आवश्यक रहेकोमा जोड दिएको छ।







