तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तराई–मधेशका विभिन्न क्षेत्रमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

शुक्रबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा घटनाको कारण, झडपका परिस्थितिहरू तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र छानबिन आवश्यक रहेको उल्लेख गरिएको छ।

बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नेकपाले सामाजिक, धार्मिक तथा सांस्कृतिक विविधतालाई राष्ट्रिय एकताको आधारका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिँदै वर्तमान संवेदनशील परिस्थितिमा सरकारले पर्याप्त राजनीतिक संवेदनशीलता देखाउन नसकेको आरोप लगाएको छ। साथै संवाद, विश्वास निर्माण र समस्याको राजनीतिक समाधानतर्फ अग्रसर हुन सरकारलाई आग्रह गरेको छ।

पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र संविधानले सुनिश्चित गरेका उपलब्धिलाई कमजोर पार्ने तथा सामाजिक द्वन्द्व भड्काउने गतिविधिप्रति सचेत रहन आमनागरिकलाई आह्वान गरेको छ। यस्ता विभाजनकारी प्रयासलाई असफल बनाउन लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्नेमा पनि जोड दिइएको छ।

साथै, पार्टीका सबै तहका समिति, नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दल, संघसंस्था तथा स्थानीय समुदायसँग संवाद, बैठक र सद्भाव र्‍याली सञ्चालन गरी सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय