काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सहमति भएको छ।
सम्झौताअनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक परिवारलाई रु १० लाखका दरले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने सहमति भएको छ।
त्यस्तै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियतबारे तत्काल छानबिन सुरु गरिने भएको छ। दुवै मृतकका परिवारका योग्य एक–एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने तथा छानबिन समितिको सुझावका आधारमा स्थानीय सरकारसँगको समन्वयमा मृतकहरूको सम्झनामा उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरिने सहमतिमा उल्लेख गरिएको छ।
सम्झौतापत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ र मृतकका परिवारका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सरकारले सम्झौतामा उल्लेखित प्रतिबद्धताहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्ने जनाएको छ भने पीडित परिवारले पनि सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ।
यसैबीच, दुवै मृतकको अन्त्येष्टि आजै गरिने जनाइएको छ।







