पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजश्व संकलनमा ९.८३ प्रतिशतले वृद्धि भएको कार्यालय प्रमुख श्रीराम पाण्डेले बताउनुभएको छ । उहाँले कार्यालयको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण बारे जानकारी गराउदै अघिल्लो आर्थिक वर्षको तुलनामा राजश्व संकलनमा वृद्धि भएको बताउनुभएको हो ।
अघिल्लो आर्थिक वर्षमा कार्यालयले कुल २० करोड १९ लाख २० हजार ८२० राजश्व संकलन गरेकोमा गत आर्थिक वर्षमा २२ करोड १७ लाख ७१ हजार ११० पुगेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ । उहाँका अनुसार संकलित राजश्वतर्फ सवारी साधन करबाट सबैभन्दा बढी १७ करोड २९ लाख ८ हजार ५३५ र सवारी नवीकरणबाट १ करोड १२ लाख ८३ हजार ४५० संकलन भएको छ । यसैगरी आयकरबाट ५९ लाख ८४ हजार ८२५, सवारी चालक अनुमतिपत्रबाट २ करोड ८७ लाख ९९ हजार, यातायात क्षेत्रको आम्दानीबाट २६ लाख ६८ हजार ३ सय तथा अन्य प्रशासनिक सेवा शुल्कबापत १ लाख २७ हजार राजश्व असुली भएको कार्यालयले जनाएको छ । आसपासका क्षेत्रमा सवारी साधनको संख्या बढ्नु, नवीकरण तथा नयाँ चालक अनुमतिपत्र लिनेहरूको संख्या बढ्नु र सेवामा नागरिकको पहुँच सुदृढ भएका कारण राजश्व संकलनमा वृद्धि भएको कार्यालय प्रमुख पाण्डेको भनाइ छ ।
यसका साथै कार्यालयले अघिल्लो आर्थिक वर्षभरि ३२ हजार १८१ वटा सेवा प्रवाह गरेकोमा गत आर्थिक वर्षमा ४३ हजार ७९ सेवा प्रवाह गरेको जनाएको छ । यसरी हेर्दा गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा कार्यालयबाट थप १० हजार ८९८ वटा बढी सेवा प्रदान गरेको देखिन्छ ।
प्रगति प्रतिवेदन अनुसार विभिन्न सेवागत विवरण अनुसार सार्वजनिक तथा निजी सवारी साधन नवीकरणमा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष २५ हजार ४६ वटा सवारी नवीकरण भएकोमा गत आर्थिक वर्षमा यो संख्या बढेर ३५ हजार १४६ पुगेको छ । यस्तै, यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी साधनको स्थायी बाटो इजाजतपत्र (रुट) नवीकरणतर्फ गत वर्ष १ हजार ३९४ वटा सेवा दिइएकोमा यस वर्ष बढेर १ हजार ५७१ पुगेको छ । सवारी साधनको प्राविधिक जाँचपास १ हजार ३६२ वटा पुगेको छ । यसैगरी अस्थायी बाटो इजाजतपत्र (पटके) सेवा लिनेको संख्या ५ हजार पुगेको छ ।
कार्यालये गत आर्थिक वर्ष २०८२÷०८३ मा ५ हजार ५ सय ४१ जनालाई नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) जारी गरेको छ । यसका साथै वर्ग थप गरी ६ सय ४९ वटा अनुमतिपत्र जारी भएका छन् । गत वर्षमा कुल ७ हजार ७ सय ७३ जनाले नयाँ सवारी चालक अनुमतिपत्रका लागि दर्ता गराएका थिए ।







