अनुपम अभियानको कोणसभा

पाल्पा । अन्तरपुस्ता महिलावादी मञ्चद्वारा सञ्चालित देशव्यापी ‘अनुपम अभियान’ अन्तर्गत पाल्पाको तानसेनस्थित आन्दोलन चोकमा कोणसभा कार्यक्रम गरिएको छ । आगामी २०८४ सालको निर्वाचनलाई समेत लक्षित गरी सञ्चालन भइरहेको यस पाँच वर्षे अभियानको चौथो वर्षमा कोणसभाको आयोजना गरिएको हो ।

सभामा महिला सामुदायिक सेवा केन्द्र अध्यक्ष तथा मञ्चकी कार्यकारी सदस्य कल्पना न्यौपानेले राज्यका हरेक संरचना र तहहरूमा महिलाको समानुपातिक तथा अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संयम, सक्रिय र संगठित बन्दै समाजमा सकारात्मक र दोषारोपणरहित अभिव्यक्ति संस्कृति विकास गर्नुपर्ने बताउनुभयो । महिला तथा सीमान्कृत समुदायको हक, अधिकार र सम्मानजनक उपस्थिति सुनिश्चित गर्नका लागि हालसम्म ४६ जिल्लामा अभियान पुगेको कार्यकारी सदस्य न्यौपानेले जानकारी गराउनुभयो ।

कार्यक्रममा मञ्चकी पाल्पा उपाध्यक्ष नरमती सिंजालीले नेपालको विकास प्रक्रियालाई आत्मनिर्भर र सम्मानजनक बनाउन महिलाहरूको नेतृत्वदायी भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले समावेशी र समानतामूलक समाज केवल महिलाका लागि मात्र नभई सम्पूर्ण समाज र देशकै लागि अपरिहार्य रहेको बताउँनुभयो ।

यसैगरी, कार्यक्रममा अभियन्ता श्याममाया राना, तुलसी नेपाल, विना सुन्धौली, पार्वती विक, स्वस्तिका श्रेष्ठलगायतले २०७६ देखि सुरु भएको मञ्चले महिला अधिकार र सामाजिक न्यायका लागि निरन्तर आवाज उठाइरहेको बताउनुभयो । उहाँहरुले अभियानले आगामी दिनमा पनि महिला सशक्तीकरण र नीतिगत तहमा अर्थपूर्ण महिला सहभागिताका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू जारी राख्ने बताउनुभएको मञ्चकी सदस्य गोमा थापामगरले जानकारी दिनुभयो ।

सम्बन्धित खवर