पाल्पा । नेकपा (एमाले) पाल्पाले पार्टी सदस्यता नवीकरण अभियानलाई प्रभावकारी बनाउन साउन २२ गतेसम्म समय थप गर्ने निर्णय गरेको छ । मंगलबार तानसेनमा सम्पन्न संगठन विभागको बैठकले संगठन सुदृढीकरण, पार्टी पुनर्गठन, सदस्यता नवीकरण अभियान र जनतामाझ प्रभावकारी कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरेको हो ।
बैठकमा गाउँ कमिटीका अध्यक्षहरूले आ–आफ्नो क्षेत्रको संगठनात्मक अवस्था, सदस्यता नवीकरण अभियानको प्रगति तथा पार्टी गतिविधिबारे रिपोर्टिङ गरेका थिए । छलफलका क्रममा केन्द्रबाट समयमै स्पष्ट कार्यक्रम र एजेन्डा नआउँदा कार्यकर्तालाई जनतामाझ लैजान सकिने प्रभावकारी विषयको अभाव भएको सहभागीहरूले बताएका थिए । उनीहरूले जनस्तरमा प्रभाव पार्ने कार्यक्रम सञ्चालनमा ढिलाइ भएको धारणा पनि राखेका थिए ।
छलफलका क्रममा वडा तहका केही जिम्मेवार पदाधिकारी अपेक्षाअनुसार सक्रिय र इमानदार रूपमा परिचालन हुन नसकेको तथा एमालेबाट निर्वाचित केही जनप्रतिनिधिले पनि जनविश्वास जित्ने गरी कार्यसम्पादन गर्न नसकेको टिप्पणी गरिएको थियो । केन्द्रदेखि जिल्ला हुँदै टोल कमिटीसम्म संगठनको पुनर्गठन आवश्यक रहेको धारणा पनि बैठकमा व्यक्त गरिएको थियो ।
बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य सरस्वती चिदीले पार्टीलाई बलियो बनाउने आधार सदस्यता भएकाले सदस्यता नवीकरण अभियानलाई तीव्र बनाउन आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय राजनीति अन्योलपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै वर्तमान सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभयो । केन्द्रको निर्देशनको मात्र प्रतीक्षा नगरी जिल्ला नेतृत्वले आफ्नै पहलमा संगठन निर्माण र पार्टी गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा केन्द्रीय सदस्य चिदीले जोड दिनुभयो । एमाले नै मुलुक र जनताको हितमा काम गर्ने पार्टी भएकाले कार्यकर्ताले उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष धनेन्द्रराज घिमिरेले प्रदेश कमिटीले जारी गरेको अन्तरपार्टी निर्देशनबारे जानकारी गराउँदै ‘मिसन पार्टी जागरण अभियान’ पालिका र वडा केन्द्रित रूपमा सञ्चालन गरिने बताउनुभयो । उहाँले नेतृत्वबीच एकता र समन्वय कायम गर्दै सदस्यता नवीकरण अभियानलाई सफल बनाउन सबै तहका नेता–कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेशसभा सदस्य खेमबहादुर सारूले जनताको काम चुस्त, पारदर्शी र जिम्मेवारीपूर्ण ढंगले गर्न सके पार्टी अझ सुदृढ हुने बताउँदै पार्टी कमिटीको पुनर्संरचना र प्रविधिमैत्री संगठन निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य इन्द्रा गहतराजले केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन समयमै नआउँदा कार्यकर्तामा निराशा बढेको उल्लेख गर्नुभयो ।
संगठन विभाग अध्यक्ष रामजी पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले सदस्यता नवीकरण अभियानका लागि साउन २२ गतेसम्म समय थप गर्ने निर्णय गरेको एमाले पाल्पाका उपसचिव दीपक विश्वकर्माले जानकारी दिनुभयो ।







