पाल्पा । असारको दोस्रो साता रोपेको धान यतिबेला लहलहाउँदो हरियो हुनुपर्ने हो । तर, पाल्पाको पूर्वखोला गाउँपालिका क्षेत्रका खेतहरू भने दिनप्रतिदिन पहेँलिँदै गएका छन् । १० रोपनी क्षेत्रफलमा धान खेती गरेका पूर्वखोला–२ जल्पा ददराका कमलराज खनाल खेतको यो अवस्था देखेर चिन्तित हुनुहुन्छ । अर्काको जमिन भाडामा लिएर कृषि गर्दै आएकी जल्पा बरमुकी खेमकुमारी आलेको खेत रोपेको धानमा पनि उस्तै समस्या छ ।
पूर्वखोलाको लाबे, खैरेनी, मन्दिडाँडा, पुल, आठबिसे र विर्ता क्षेत्रका खेतहरूमा काँढादार खपटे किराको प्रकोप फैलिएको छ । किराले धानको पात खाएर सेतो धर्सा र धब्बा बनाइदिएपछि रोपेको २०–२५ दिनमा हरियो हुनुपर्ने खेत पहेँलो र सेतो देखिएको छ ।
असार अन्तिम साता रोपेको धानमा संक्रमण कम देखिए पनि त्यसअघि र चैतमा रोपेको धानमा समेत प्रकोप तीव्र रहेको गाउँपालिकाका सहायक कृषि प्राविधिक शीरबहादुर बुढाले बताउनुभयो । धानमा आक्रमण गर्ने यो वयस्क खपटे किरा निलो–कालो रङको र काँढादार पखेटा भएको उहाँले बताउनुभयो ।
समस्या बढेपछि पूर्वखोला गाउँपाकिलाका जनप्रतिनिधि, प्राविधिकहरूले खेतमै पुगेर अवलोकन गरी आवश्यक विषादी वितरण, विषादी छर्कने तरिका सिकाउने कामलाई तीव्रता दिएको छ । यसमा कृषि ज्ञान केन्द्रले पनि सहजीकरण गरेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पाल्पाका प्रमुख सन्तोष चौधरीका अनुसार यो प्रकोप नियमित नभई अनुकूल वातावरण पाएपछि फैलिने किरा हो । किराले पातको हरियो भाग खाइदिने भएकाले बिरुवाले खाना बनाउन नसकी खेत पहेँलो देखिने उहाँको भनाइ छ । समयमै किटनाशक विषादी छर्किने हो भने पुनः नयाँ मुना आउने र उत्पादनमा ठूलो असर नपुग्ने प्रमुख चौधरी बताउनुहुन्छ ।
यसैबीच पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले किसानले रोपेको धानमा देखिएको समस्या समाधानका लागि १ हजार ७ सय मिलिलिटर किटनाशक औषधि, स्प्रे र मास्क उपलब्ध गराउनु भएको छ ।
( मिति २०८३ साउन ११ गते करूव अर्धसाप्ताहिक पत्रिकाका प्रकाशित समाचार)







