डिभिजन वन कार्यालय पाल्पाको प्रगति समीक्षा

पाल्पा । डिभिजन वन कार्यालय पाल्पाले जिल्लास्थित स्थानीय तह तथा अन्य सरोकारवाला निकायहरूबीच बृहत् समन्वय बैठक तथा वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ ।

बैठकमा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन अनुसार कार्यालयले समृद्धिका लागि वन, कृषि वन, जडीबुटी विकास, र वन्यजन्तु संरक्षणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । चालु र पुँजीगत बजेटअन्तर्गत सञ्चालित अधिकांश कार्यक्रमहरूले ९० प्रतिशतभन्दा बढी वित्तीय प्रगति हासिल गरेका छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार गत आर्थिक वर्षका लागि विनियोजित कूल ११ करोड १ लाख ७ हजार रुपैयाँ बजेटमध्ये ८ करोड ५५ लाख ४२ हजार रुपैयाँ खर्च भई समग्र वित्तीय प्रगति ७७.६९ प्रतिशत पुगेको छ ।

समीक्षा कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाको सबैभन्दा प्रभावकारी र अनुकरणीय उपलब्धिका रूपमा ’कबुलियती वन कार्यक्रम’ देखिएको छ । वर्षौंदेखि झाडी, वनमारा र उजाड बनेका वन क्षेत्रलाई पुनः हरियालीमा रूपान्तरण गर्दै स्थानीयवासीलाई आम्दानीसँग जोड्न यो कार्यक्रम सफल भएको छ । हैसियत बिग्रिएका वन क्षेत्रमा अम्लिसो, किवी, केरा, अलैंची जस्ता बहुवर्षीय नगदे बाली विस्तार गरिएपछि कबुलियती वन समूहमा आवद्ध सर्वसाधारणको आर्थिक स्तरमा उल्लेख्य सुधार आएको कार्यालयको दावी छ ।

पाल्पामा ११ वटा क्लस्टरअन्तर्गत २०५ वटा कबुलियती वन समूह गठन गरी व्यवस्थापन भइरहेको छ । १ हजार ६ सय ६८ हेक्टर क्षेत्रफलमा फैलिएका यी वनबाट २ हजार २ सय २३ घरधुरीका १५ हजारभन्दा बढी जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । विशेष गरी निस्दी, पूर्वखोला, तिनाउ, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका विभिन्न कबुलियती वन क्षेत्रमा पछिल्लो पाँच वर्षमा ८ लाख ८३ हजार ९ सय १ किलोग्राम अम्लिसो उत्पादन भएको छ । यसबाट ७ करोड ६ लाख ३८ हजार ३ सय १० रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।

पूर्वखोलाको जल्पामा कबुलियती वन तथा निजी जग्गामा रोपिएका किवीका बिरुवाले उत्पादन दिन थालेपछि किसानहरू क्षेत्र विस्तारतर्फ आकर्षित भएका छन् । जल्पाको ढोलीमारा र झिरुवासको धार्केसिंङ जस्ता दुर्गम क्षेत्रका कृषि उपजहरू अहिले स्थानीय होमस्टे र बजारसँग सीधा जोडिन थालेका छन्, जसले स्थानीय पर्यटन र व्यापारमा समेत टेवा पु¥याएको छ ।

कार्यालयले सञ्चालन गरेका ६ वटा नर्सरीमार्फत तेजपात, टिमुर, दालचिनी, सुगन्धकोकिला, बेल, खयर लगायत बहुवर्षीय र अन्य प्रजातिका गरी २ लाख १२ हजारभन्दा बढी बिरुवा उत्पादन गरिएका छन् । साथै कृषि वन प्रवद्र्धनका लागि किसानहरूलाई आँप, लिची, कागती जस्ता फलफूलका बिरुवा वितरण गरिएको छ । काठ, दाउरा, तेजपात, दालचिनीको बोक्रा तथा खोटो बिक्रीबाट कार्यालयले १ करोड ११ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।

कार्यक्रमका जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वन संरक्षणलाई समुदायको जीवनस्तर उकास्ने माध्यम बनाएकोमा खुसी व्यक्त गर्नुभयो । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र पाल्पाका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेयले वन कार्यालयका कार्यक्रमहरू प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा सरोकारवाला निकायहरूसँगको समन्वयलाई अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन प्रसाद श्रेष्ठले कबुलियती वन कार्यक्रमले एकातिर वन संरक्षण र अर्कोतिर विपन्न समुदायको आयआर्जन बढाउन दोहोरो भूमिका खेलेको बताउनुभयो ।

(मिति २०८३ साल साउन ७ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय