पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा पछिल्लो सात वर्षयता सवारी दुर्घटनामा कमी आएको प्रहरीले जनाएको छ ।
एक समय वर्षायाम सुरु हुनासाथ पहिरो, ढुंगा खस्ने जोखिम र तीव्र गतिका कारण बारम्बार दुर्घटना हुने यो सडकखण्डमा अहिले चालकको बढ्दो सावधानी, ट्राफिक व्यवस्थापनमा कडाइ तथा ठूलो वर्षा हुँदा सवारी साधन रोक्ने अभ्यास प्रभावकारी बनेपछि दुर्घटना न्यूनीकरण भएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले चालकमा जोखिमबारे चेतना बढ्नु र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका कारण दुर्घटना घटेको बताउनुभयो । “जोखिम क्षेत्र हो भन्ने थाहा हुँदाहुँदै पनि विगतमा जबर्जस्ती सवारी चलाउने प्रवृत्ति थियो,” उहाँले भन्नुभयो, “अहिले चालकलाई निरन्तर सचेत गराउने, ट्राफिक नियम कडाइका साथ लागू गर्ने र ठूलो वर्षा हुँदा सवारी रोकिने व्यवस्थाले दुर्घटना घटेको छ ।” अहिले वर्षायाममा ठूलो वर्षा भएपछि दोभान र बुटवलमै सवारी रोक्ने, जोखिमयुक्त स्थानमा प्रहरी परिचालन गर्ने तथा चालकलाई निरन्तर सचेत गराउने काम गर्ने गरिएको छ ।
चालक सुदिप खत्रीका अनुसार सुरुङमार्ग निर्माणका कारण सडक साँघुरो भएकाले तीव्र गतिमा सवारी चलाउन सकिने अवस्था नरहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा निकै होसियार भएर मात्रै सवारी चलाउनुपर्ने भएकाले पनि दुर्घटनाको संख्यामा कमि आएको बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र खड्काका अनुसार जिल्लाभर दुर्घटनाको संख्या बढेजस्तो देखिए पनि सिद्धबाबा क्षेत्रमा भने २०७६ यता दुर्घटना घट्दो क्रममा छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बर्तुङदेखि चिडियाखोलासम्मको ३६ किलोमिटर सडकखण्डमा पछिल्ला दुई दशकमा दुई सय भन्दा बढीको मृत्यु भएको छ भने ७ सय भन्दा बढी घाइते वा अंगभंग भएका छन् । २०२२ सालमा निर्माण सुरु भई २०२८ सालमा पोखरासम्म कालोपत्र गरिएको सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डको जोखिमको दीर्घकालीन समाधानका लागि अहिले सुरुङमार्ग तीव्र गतिमा निर्माण भइरहेको छ ।
(मिति २०८३ साल साउन ७ गते करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)







