पाल्पा । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदानको चर्चा स्मरणमा मात्र सीमित नराखी उहाँका असल विचार र कर्मलाई व्यवहारमा उतार्नुपर्नेमा तानसेनमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल, पाल्पाको आयोजनामा भएको ४८ औं पुष्पलाला स्मृति दिवसका अवसरमा आयोजित “पुष्पलालः हिजो, आज र भोलि“ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो विचार व्यक्त गरेका हुन् ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव राजेश कुमार अर्यालले “पुष्पलालः चिन्तन, सान्दर्भिकता र भविष्य (हिजो, आज र भोलि)“ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै अर्यालले नेपाली समाजको वर्गीय विश्लेषण, कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको संयुक्त जनआन्दोलनको कार्यदिशा र भूमिसुधार जस्ता ऐतिहासिक कदममा पुष्पलालको भूमिका अद्वितीय रहेको उल्लेख गर्नुभयो । आज कम्युनिस्टहरू सत्तामा पुगे पनि दलाल पुँजीवाद र राजनीतिक विचलन बढेको भन्दै उहाँले भोलिको वैज्ञानिक समाजवादका लागि राष्ट्रिय पुँजीको विकास, कृषि आधुनिकीकरण र वैचारिक पुनर्जागरण आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सीमित व्यक्तिहरूका माझ मात्र दिवस मनाउने परिपाटी गलत भएको भन्दै मजदूर, किसान, विद्यार्थी र शिक्षकसम्म पुष्पलाल र बिपी कोइराला जस्ता नेताहरूको योगदान पु¥याउनुपर्ने बताउनुभयो । उहाँले व्यक्ति जीवित छँदा बेवास्ता गर्ने र मृत्युपछि मात्र प्रशंसा गर्ने संस्कार गलत रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई सही मार्गदर्शन गर्न उहाँहरूका विचार र इतिहासको चर्चा आवश्यक रहेकोमा जोड दिनुभयो ।
त्यस्तै, प्रतिष्ठानका पूर्व अध्यक्ष गोविन्द भट्टराईले केवल औपचारिक रूपमा स्मृति दिवस मनाएर मात्रै नपुग्ने भन्दै पुष्पलालको योगदान, त्याग, निष्ठा बारे आम नागरिकले अनुभूति गर्ने गरी व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष सन्तोष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष झपेन्द्र गहिरेले उपस्थित सबैलाई स्वागत गर्दै पुष्पलालको विचार आजको सन्दर्भमा झनै बढी सान्दर्भिक बनेको बताउनुभएको कोषाध्यक्ष रेखीराम रानाले जानकारी दिनुभयो ।







