मिलिनियम स्कुलमा जलेकी बानुको थप उपचारका लागि काठमाडौं लगियो

पाल्पा । तानसेन–४ स्थित मिलेनियम माध्यमिक विद्यालयको भान्सा कोठामा ग्यास लिक भई आगलागी हुँदा जलेकी साजुदा बानुको थप उपचारको लागि काठमाडौं लगिएको छ । एलकेजीमा पढ्ने अन्य ३ घाइते बालिका भने सामान्य उपचारपछि घर फर्केका छन् ।

स्कुलमा विहीबार दिउँसो करिब १२ बजे विद्यार्थीले खाजा खाने क्रममा ग्यासको पाइप फुस्किएर आगलागी भएको हो । जसमा परी विधार्थीहरु साजुदा बानु, सचिता बानु, पर्सुजा दंगाल र अनुष्का कुमाल घाइते भएका थिए ।

घटनालगत्तै सबै घाइतेलाई युनाइटेड मिसन अस्पताल, पाल्पामा उपचारका लागि लगिएको विद्यालयका प्रिन्सिपल महेन्द्र पोखरेले बताउनुभयो । उहाँले घाइते भएका मध्य तीन जना सामान्य अवस्था रहेका बालिकाहरू सामान्य उपचारपछि घर फर्किएको र एक जनालाई प्राथमिक उपचारपछि हेलिकोप्टरबाट काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल लगिएको जानकारी दिनुभयो ।

घाइते ८ वर्षीया विद्यार्थी साजुदा बानुको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको अस्पताल प्रशासनले जनाएको छ । बानुका अनुहार, दुबै हात, छातीको दाहिने भाग, कम्मर देखि पैताला सम्मको खुट्टाको भाग गरी करिब ३५ प्रतिशत शरीरको भाग जलेको चिकित्सकको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार भान्सा घरमा खाजा खाने क्रममा अकस्मात रुपमा ग्यास लिक भएर दुर्घटना भएको र गम्भीर घाइते बालिकालाई काठमाडौँ पठाइएको बताउदै घटनाबारे थप अनुसन्धान भैरहेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय