तानसेन । पाल्पामा वैवाहिक सम्बन्ध टुट्ने क्रम वर्षैपिच्छे बढ्दै गएको पाइएको छ । पाल्पा जिल्ला अदालतले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरण अनुसार अन्य मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दाहरूको संख्या निकै उच्च देखिएको हो ।
अदालतका स्रेस्तेदार केशव पराजुलीले गराउनुभएको जानकारी अनुसार कुल २१ वटा विभिन्न विषयगत शीर्षकहरूमध्ये गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दाहरू सबैभन्दा बढी ६ सय ४५ वटा दर्ता भएकोमा ५ सय ५५ वटा फछ्र्यौट भई ९० वटा अझै बाँकी रहेका छन् । विगतका वर्षहरूको अवस्था हेर्दा आर्थिक वर्ष २०७९/८० मा जिल्ला अदालत पाल्पामा चार सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०८०/८१ मा चार सय २८ र २०८१/८२ मा चार सय ८५ मुद्दा दर्ता भएका थिए । सम्बन्धविच्छेदका मुद्दा वार्षिक रुपमा बढ्दै गएको तथ्याँकले स्पष्ट देखाएको स्रेस्तेदार पराजुलीले बताउदै बाध्यात्मक वैदेशिक रोजगारी, सूचना प्रविधिको गलत प्रयोग र मादकपदार्थ सेवनलगायतका कारण वैवाहिक सम्बन्ध टुट्ने गरेको उहाँको भनाइ छ ।
यस्तै गरी गत आर्थिक वर्षमा अंश सम्बन्धी ४९ वटा मुद्दा दर्ता भएकोमा २१ वटा फछ्र्यौट भई २८ वटा बाँकी रहेका छन् भने लेनदेनका ३१ मुद्दामा १९ वटा फछ्र्यौट भएका छन् । यस्तै मानाचामलका १९ वटा दर्ता भएकोमा ९ वटा फछ्र्यौट भई १० वटा बाँकी रहेका छन् । घरेलु हिंसाका ७ मुद्दा दर्ता भएकोमा ६ वटा फछ्र्यौट भई १ वटा बाँकी छ भने बहुविवाहको १ दर्ता भएकोमा १ वटै फछ्र्यौट भइसकेको सूचना अधिकारी रामप्रसाद पोखरेलले बताउनुभयो ।
यसका साथै जिल्ला अदालत पाल्पा कार्यसम्पादन मूल्यांकनमा देशभरमै दोस्रो उत्कृष्ट जिल्ला बनेको छ भने लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । गत आर्थिक वर्षमा जिल्ला अदालतले ७ सय ५१ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा ९ सय ८७ मुद्दा फछ्र्यौट गरी दोस्रो भएको हो । आर्थिक वर्ष २०८२÷०८३ को मूल्यांकनमा समयमै न्याय सम्पादन गर्न सफल पाल्पा जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय सम्मानीत पनि हुनुभएको छ । पाल्पा अदालतले छिटो, प्रभावकारी र गुणस्तरीय न्याय सम्पादनलाई प्राथमिकता दिएकाले ८०.७६ प्रतिशत मुद्दा फछ्र्यौट भएको स्रेस्तेदार पराजुलीले जानकारी दिनुभयो ।
जिल्ला न्यायाधीश शर्मा उपाध्यायले अदालतले न्याय सम्पादनलाई छिटो, छरितो र सर्वसुलभ बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो । उहाँले मुद्दा फछ्र्यौटको गतिलाई अझ तीव्र बनाउँदै नागरिकलाई न्यायको सहज पहुँच दिलाउन अदालत प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । न्यायाधीश शर्माका अनुसार अहिले पाल्पा जिल्ला अदालतमा डेढ वर्ष अघिका कुनै पनि मुद्दा बाँकी नरेको बताउनुभयो ।
( २०८३ साल सायन ७ गते करूवा अर्धसाप्ताहिक पत्रिकाका प्रकािशत समाचार)







