पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरास्थित सिद्धार्थ राजमार्गमा गएराति भएको टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
बुटवलबाट तानसेनतर्फ जाँदै गरेको लु २ ख १७१९ नम्बरको खाली टिप्पर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टिप्पर चालक तिनाउ गाउँपालिका–३ सिसुवाका करिब ३५ वर्षीय हेमबहादुर लम्तरी गम्भीर घाइते भएका थिए । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षक खिलबहादुर रानाको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेर उनको उद्धार गरेको थियो ।
गम्भीर घाइते लम्तरीलाई उपचारका लागि मर्चवार सिटी अस्पताल, बुटवल पठाइएकोमा गएराति ११ः५४ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) भिमलाल भटट्राईले जानकारी दिनुभयो ।







