पाल्पा । रिब्दीकोट गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को हाल सम्मको कार्यसम्पादन प्रगति सार्वजनिक गरेको छ । जसमा गाउँपालिकाले विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले प्रशासनिक चुस्तता र नागरिकमैत्री सेवा प्रवाह आफ्नो पहिलो सर्त भएको बताउँदै चालु आर्थिक वर्षमा विनियोजित कुल ५४ करोड ५८ लाख ९३ हजार २ सय ३२ रुपैयाँ बजेटमध्ये हालसम्म ४५ करोड ६३ लाख ७३ हजार ५ सय ४३ रुपैयाँ अर्थात् ८३.५ प्रतिशत खर्च भइसकेको जानकारी दिनुभयो । जसमध्ये चालुतर्फ ८८ दशमलव ६ प्रतिशत र पूँजीगततर्फ ७० दशमलव ९ प्रतिशत वित्तीय प्रगति हासिल भएको उहाँले बताउनुभयो । यसका साथै प्रमुख प्रशासकीय अधिकृत भुसालका अनुसार राजस्व संकलनको क्षेत्रमा पालिकाले लक्ष्यभन्दा बढी सफलता प्राप्त गरेको छ । यस वर्ष ९३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ९६ लाख ४२ हजार रुपैयाँ संकलन भएको बताउनुभयो । नियम विपरीत ढुङ्गा, गिट्टी, बालुवा निकासी तथा ओसारपसार गर्नेहरूमाथि कडा अनुगमन गरी जरिबाना समेत असुल गरिएको छ । कुल राजस्वमध्ये सबैभन्दा बढी गाउँ कार्यपालिकाको कार्यालयबाट ४५ लाख ७८ हजार र वडा नं. ४ बाट २० लाख २१ हजार रुपैयाँ संकलन भएको उहाँको भनाइ छ ।
सञ्चार मञ्च पाल्पाको सहजीकरणमा भएको कार्यक्रममा सहजतर्का माधवप्रसाद अर्यालले नागरिक अभिमत र बर्हिगमन अभिमत प्रस्तुत गर्दै विगतको तुलनामा नागरिकले विकासको अनुभूती गरेपनि चाहे अनुसारको काम हुँन नसकेको गुनासो रहेको जानकारी गराउनुभएको थियो । यसका साथै सहभागी नागरिकले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानीलगायतका विषयमा राखेको प्रश्न, जिज्ञासा र सुझाव माथि विषगत शाखाका प्रमुखहरुले आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रममा उठेका सवालहरुलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले कृषिमा आधुनिकीकरण र दिगोपनालाई ध्यानमा राखिएको र कृषकलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्ने नीति पालिकाको रहेको बताउनुभयो । उहाँले नागरिकहरूले उठाउनुभएका हरेक प्रश्न स्थानीय सरकारप्रतिको भरोसा र खबरदारी भएको उल्लेख गर्दै प्राप्त जायज सुझावलाई आत्मसात् गरेर अगाडि बढ्ने र सुशासनयुक्त एवं समृद्ध गाउँपालिका निर्माणमा निरन्तर प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो । अध्यक्ष कार्कीले सीमित स्रोत र साधनका कारण नागरिकका सबै आवश्यकता एकै पटक सम्बोधन गर्न नसकिएको तर प्राथमिकतामा राखेर काम गर्दे अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सार्वजनिक सुनुवाइले स्थानीय तहको सेवा प्रवाह, बजेट खर्च र विकास निर्माणका कार्यलाई पारदर्शी, जवाफदेही र जनमुखी बनाउन मद्दत गर्ने धारणा राख्नुभयो । उहाँले नागरिकका गुनासाहरूले आफूहरुलाई थप जिम्मेवार बनाएको बताउदै उपाध्यक्ष अधिकारीले विकास र सुशासनका लागि आफूहरू प्रतिबद्ध रहेको र नागरिकको सहजताका लागि निरन्तर काम गर्ने बताउनुभयो ।







