पाल्पा । मनसुनको सुरुवातसँगै हुन सक्ने सम्भावित प्राकृतिक विपद्को पूर्वतयारी स्वरूप निस्दी गाउँपालिकाले स्थानीय प्रहरी चौकीहरूलाई विभिन्न विपद् व्यवस्थापन तथा उद्धारका सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले भौगोलिक रूपमा विकट र जोखिमयुक्त क्षेत्रमा रहेका रुक्से भञ्ज्याङ्ग प्रहरी चौकी र डमरा अस्थायी प्रहरी चौकीलाई लक्षित गरी सामग्रीहरू प्रदान गरिएको हो ।
प्रहरी चौकीलाई हस्तान्तरण गरिएको सामग्रीहरूमा लाइट ३ थान, डोरी १०० मिटर, गमबुट १८ पिस, रेनकोट ६ थान, हेल्मेट ११ थान, लाइफ ज्याकेट ५ थान, गल (फोरफुट) २ थान, साबेल ६ थान, गैँटी ४ थान, क्लाइम्बिङ रोप २० मिटर, बाल्टी ६ पिस, सेफ्टी हार्नेस ५ थान, सेफ्टी बेल्ट १० थान, हँसिया २ थान, फरुवा ३ थान र पन्जा १२ थान रहेको लेखा अधिकृत सरोज काफ्लेले जानकारी दिनुभयो । विपद्को समयमा तत्काल कार्यक्षेत्रमा खटिएर नागरिकको जिउधनको रक्षा गर्नु नै यो कार्यको मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।
सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले नागरिकको सुरक्षा र स्थानीय स्तरमा विपद्को सफल व्यवस्थापन गर्नु गाउँपालिकाको पहिलो प्राथमिकता रहेको बताउनुभयो । वर्षातको समयमा प्राकृतिक प्रकोपको उच्च जोखिम रहने हुँदा घटना घटेपछि पछुताउनु भन्दा पूर्वतयारीलाई मजबुत राख्न पालिकाले यो कदम चालेको उहाँको भनाइ थियो ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले उपलब्ध गराइएका सामग्रीहरूको प्रभावकारिता र फाइदामाथि प्रकाश पार्दै स्रोत–साधनको अभावमा उद्धार कार्य रोकिन नहुने धारणा राख्नुभयो । उहाँका अनुसार यी सामग्रीहरूले सुरक्षाकर्मीहरूलाई सुरक्षित रूपमा उद्धारमा खटिन मद्दत गर्ने, उनीहरूको मनोबल उच्च बनाउने र संकटको घडीमा हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न ठूलो फाइदा पु¥याउनेछ ।
यता सामग्री बुझ्दै प्रहरी चौकीका प्रतिनिधिहरूले गाउँपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीका लागि आवश्यक सुरक्षा उपकरण र उद्धार सामग्री समयमै प्राप्त हुनुले ठूलो राहत मिलेको बताए । साधनस्रोतको कमीले गर्दा कतिपय अवस्थामा चाहेर पनि समयमै उद्धार गर्न कठिन हुने गरेको स्मरण गर्दै प्रहरीले अबका दिनमा कुनै पनि आपत्कालीन अवस्थामा अझ बढी जिम्मेवार, व्यवस्थित र प्रभावकारी रूपमा जनशक्तिको परिचालन गरी नागरिकको सेवामा समर्पित हुने प्रतिबद्धता समेत जनाए ।








