पाल्पा । तिनाउ गाउँपालिकाले कृषकहरूलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ठूलो संख्यामा आधुनिक कृषि औजार तथा उपकरणहरू अनुदानमा वितरण गर्दै आएपछि किसानहरू उत्साहित भएका छन् । उत्पादन बढाउन र श्रमको बचत गर्न पालिकाले किसानको मागका आधारमा कृषि सामग्री चालु आर्थिक वर्षमा पनि वितरण गरेको छ ।
गाउँपालिकाले यस वर्ष कुल ३०६ वटा मिनिटिलर (हाते टेक्टर), ४६ वटा कम्बाइन मिल (कुटानी–पिसानी मेसिन) र ३ वटा च्यापकटर (घाँस काट्ने मेसिन) किसानहरूलाई वितरण गरेको छ । जसमध्ये ७० वटा मिनिटिलर र ३० वटा कम्बाइन मिल संघीय विशेष अनुदान अन्तर्गतको ‘तिनाउ कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन कार्यक्रम’ बाट समेटिएको हो भने बाँकी अन्य थप सामग्रीहरू गाउँपालिकाको आफ्नै वार्षिक बजेटबाट व्यवस्थापन गरी कृषकलाई उपलब्ध गराइएको तिनाउ गाउँपालिकाका कृषि शाखा प्रमुख हेमन्त कुमार शर्माले जानकारी दिनुभयो ।
गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी किसानहरूबाट आवेदन माग गरेको थियो । वडा तहमा जम्मा भएका निवेदनहरूमध्ये वास्तविक र प्राथमिकतामा परेका किसानहरूलाई सम्बन्धित वडाले छनोट गरी सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यी सम्पूर्ण सामग्रीहरू १ करोड ७० लाख ६९ हजार ६ सय ११ रुपैयाँको लागतमा जय अजिमा ट्रेड्स टेकु, काठमाडौंले ठेक्का सम्झौतामार्फत आपूर्ति गरेको र प्राविधिक टोलीले सामग्रीको गुणस्तर र प्राविधिक जाँच गरेपछि मात्र किसानहरूलाई हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो ।
कृषकको ५० प्रतिशत लागत साझेदारी (अनुदान) मा यी प्रविधिहरू वितरण गरिएको हो । यस अन्तर्गत किसानहरूले बजार मूल्यभन्दा निकै सस्तो दरमा उपकरणहरू प्राप्त गरेका छन् । किसानहरूले प्रति मिनिटिलर २२ हजार ३ सय ५० रुपैयाँ, कम्बाइन मिल १४ हजार ७ सय ५० रुपैयाँ र च्यापकटर १३ हजार २ सय ५० रुपैयाँ मात्र खर्चेर प्राप्त गरेका छन् । बजारमा महँगो पर्ने आधुनिक मेसिनहरू आधा मूल्यमै घरदैलोमा पाउँदा तिनाउका कृषकहरू निकै खुसी भएका छन् । आधुनिक उपकरणको प्रयोगले खेती गर्दा लाग्ने समय र श्रम आधा घट्ने र आम्दानी बड्ने भएकोले व्यावसायिक कृषिमा लाग्न ऊर्जा मिलेको बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउलाई कृषिमा आत्मनिर्भर बनाउने र युवाहरूलाई कृषिमा टिकाइराख्ने नीति अनुरूप अनुदानमा प्रविधि वितरण कार्यक्रम ल्याइएको बताउनुभयो । “हाम्रो मुख्य उद्देश्य भनेकै किसानको उत्पादन लागत घटाउनु र उत्पादकत्व बढाउनु हो । किसानहरूले परम्परागत रूपमा दुःख गरिरहनु पर्दैन, प्रविधिको प्रयोग गरेर व्यावसायिक बन्नुपर्छ,“ अध्यक्ष श्रेष्ठले भन्नुभयो, “गाउँपालिकाले आगामी दिनमा पनि किसानका आवश्यकता अनुसारका प्रोत्साहनमूलक कार्यक्रमहरू ल्याइरहनेछ।“ उहाँले अनुदानमा पाएका सामग्रीको सहि सदुपयोग गर्न किसानहरूलाई आग्रह समेत गर्नुभयो । करूवा पत्रिकाबाट








