निस्दीको ६८ करोड ६० लाख ५० हजारको प्रस्तावित बजेट

पाल्पा । निस्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ६० लाख ५० हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।

२० औं गाउँसभाको पहिलो बैठकमा अध्यक्ष मुक्तबहादुर सारुले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्ष तीरनकुमारी श्रेष्ठले बजेट प्रस्तुत गर्नुभएको हो ।

अध्यक्ष सारुले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय स्रोत–साधनको अधिकतम परिचालन, दिगो विकास, सुशासन तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ । आर्थिक समृद्धिको आधारका रूपमा कृषि, पशुपालन, सहकारी, पर्यटन, उद्योग तथा वन क्षेत्रको एकीकृत विकास गर्ने नीति गाउँपालिकाले लिएको छ ।

कृषि क्षेत्रलाई युवामैत्री र व्यावसायिक बनाउन “फलफूल, दलहन र अन्नबालीः खाद्य सुरक्षामा निस्देली“ तथा “उपयोग गरौँ भूमि, पानी र जवानी, भित्र्याऔँ नयाँ प्रविधि र निजी लगानी“ भन्ने नारासहित कार्यक्रम सञ्चालन गरिने भएको छ । महिलालाई व्यावसायिक कृषिमा आबद्ध गरिने, कफी तथा अदुवा खेतीको आधुनिकीकरण गरिने र स्थानीय उत्पादनको बजारीकरणका लागि “निस्दी कोसेली घर“ स्थापना गरिने नीति कार्यक्रममा रहेको गाउँपालिकाले जनाएको छ ।
पशुपालनतर्फ “गोठदेखि ओठसम्म“ अभियानमार्फत स्वच्छ दूध तथा मासु उत्पादनका लागि नश्ल सुधार र आधुनिक खोर निर्माणमा अनुदान दिइनेछ। निस्दीलाई मासु, अण्डा, तरकारी तथा मसला बालीमा आत्मनिर्भर बनाउँदै निर्यातमुखी उत्पादन गर्ने लक्ष्य राखिएको छ । आधारभूत शिक्षालाई अनिवार्य तथा निःशुल्क र माध्यमिक शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाइने भएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षकसँग कार्यसम्पादन करार गरिने र सबै शिक्षकका लागि ‘मल्टिभेसनल कोचिङ’ सञ्चालन गरिने अध्यक्ष सारुले जानकारी दिनुभयो ।

स्वास्थ्यतर्फ वडा नं. ४ मित्यालमा निर्माण सम्पन्न भएको १५ शैयाको आधारभूत अस्पताल चालु आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने, ४० वर्षमाथिका नागरिकको सुगर तथा उच्च रक्तचाप परीक्षणलाई निरन्तरता दिइने, एम्लोडिपिन र मेटफर्मिन औषधि निःशुल्क उपलब्ध गराइने तथा गर्भवती महिलालाई क्याल्सियम, अण्डा र आवश्यक परे निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने नीति कार्यक्रममा समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले चालु वर्षभित्रै बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य राखेको बताउनुभयो ।

पूर्वाधार विकासतर्फ नयाँ सडक भन्दा पुराना सडकको स्तरोन्नति र मर्मतलाई प्राथमिकता दिइएको छ । पालिकाको गौरवको आयोजना केम–खाम्चा मार्ग निर्माणलाई तीव्रता दिइने, मुख्य प्रशासनिक भवन तथा सहलकोट स्वास्थ्य चौकीको निर्माण यसै वर्ष सम्पन्न गरिने प्रमुख प्रशासकीय अधिकृत चितौरेको भनाइ छ । खानेपानी क्षेत्रमा “योजना अधुराः गर पहिला पूरा“ भन्ने नारासहित उपभोक्ताको २५ प्रतिशत र गाउँपालिकाको ७५ प्रतिशत लागत साझेदारीमा “एक घर, एक धारा“ अभियानलाई शतप्रतिशत पु¥याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो । साथै जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि “एक वडा, एक पोखरी“ अभियान सञ्चालन गरिनेछ ।

सुशासन प्रवद्र्धनका लागि “प्रविधिमैत्री प्रशासन, पारदर्शी सञ्चालनः सुशासित निस्दी गाउँपालिकाको पहिचान“ भन्ने मूल नारासहित वडा तहका सेवाहरूलाई क्रमशः अनलाइन प्रणालीमा लैजाने, राजस्व संकलनमा क्यूआर कोड लागू गर्ने, उपभोक्ता समितिको भुक्तानी ई–पेमेन्टमार्फत बैंक खातामा पठाउने तथा प्रत्येक छ महिनामा सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण अनिवार्य गर्ने व्यवस्था गरिएको लेखा अधिकृत सरोज काफ्लेले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय