शिक्षामा प्रविधि भित्र्याउँदै तिनाउ गाउँपालिका

पाल्पा । तिनाउ गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार र शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने अभियानलाई तीव्रता दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पालिकाभित्रका विभिन्न विद्यालयहरूलाई आधुनिक डिजिटल प्रविधि र शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको हो ।

गाउँपालिकाले कक्षा ८ र १० मा डिजिटल माध्यमबाट पठनपाठन गराउने उद्देश्यले विद्यालयहरूलाई २२ वटा स्मार्ट बोर्ड वितरण गरेको छ । यसैगरी, प्रारम्भिक बालविकास कक्षाका साना बालबालिकाहरूलाई श्रव्य–दृश्य माध्यमबाट आकर्षण गर्न २० वटा स्मार्ट टिभी समेत प्रदान गरिएको जनाएको छ । विद्यालयहरूको प्रशासनिक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि ५ वटा डेस्कटप कम्प्युटर, ५ वटा ल्यापटप र ७ वटा प्रिन्टर समेत वितरण गरिएको छ । साथै, साना बालबालिकाहरूका लागि कक्षाकोठामा उपयुक्त र न्यानो शैक्षिक वातावरण निर्माण गर्न आवश्यक कार्पेट, कुसन लगायतका व्यवस्थापकीय सामग्रीहरू समेत उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाले शिक्षा क्षेत्रको रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । “अहिलेको युग सूचना र प्रविधिको युग हो । परम्परागत शिक्षण शैलीले मात्रै हाम्रा विद्यार्थीहरू विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैनन्,“ अध्यक्ष श्रेष्ठले भन्नुभयो, “सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्कन नदिन र विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्न गाउँपालिकाले बजेटमा शिक्षालाई प्राथमिकता दिँदै यो लगानी गरेको हो । यसले विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विश्वास छ ।“

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले उपलब्ध गराइएका प्रविधिको सहि प्रयोग गर्दा शैक्षिक गुणस्तरमा सुधार आउने बताउनुभयो । उहाँले प्रविधि र सामग्रीहरूको सदुपयोगका लागि आवश्यक क्षमता विकासका कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । “भौतिक सामग्री र प्रविधि भित्र्याउनु मात्र ठूलो कुरा होइन, यसको प्रभावकारी सञ्चालन र दीर्घकालीन संरक्षण मुख्य चुनौती हो,“ अधिकृत सारुले भन्नुभयो, “विद्यालयहरूले यी प्रविधिको उच्चतम प्रयोग गरी शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्छ । गाउँपालिकाले यसको नियमित अनुगमन र प्रशासनिक सहजीकरण गर्नेछ ।“

शिक्षा शाखा प्रमुख लक्ष्मी कुवंरले स्मार्ट बोर्ड र टिभीको प्रयोगले शिक्षक र विद्यार्थी दुवैमा नयाँ उत्साह थप्ने र कठिन विषयहरूलाई पनि भिजुअल माध्यमबाट सजिलै बुझाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चालु आबमा २ करोडको बजेटबाट प्रविधिमैत्री विद्यालयसहित क्षमता विकास तालिम र कक्षा कोठा व्यवस्थापन लगायतको काम गरिएको बताउनुभयो । प्रविधि प्रयोगका विषयमा शिक्षकहरुलाई आधारभूत तालिम उपलब्ध गराएको प्रमुख कुवंरको भनाइ छ । गाउँपालिकाको यस कदमले सामुदायिक विद्यालयहरूलाई थप प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सघाउने विश्वास अभिभावकहरूले गरेका छन् ।

दोमान माध्यमिक विद्यालयका प्रद्यानाध्यापक सूर्य प्रसाद पौडेलले प्रविधिसंगै शिक्षकहरुको क्षमता विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समय अनुसार शिक्षालाई प्रविधिसंग जोडने कुरा सकारात्मक रहेको बताउदै सोही अनुसार जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय