पाल्पा । स्थानीय तह आर्थिक रूपमा सबल नभएसम्म दीर्घकालीन विकासका लक्ष्य र नागरिकका अपेक्षाहरू पूरा गर्न कठिन हुन्छ । यही यथार्थलाई आत्मसात् गर्दै माथागढी गाउँपालिकाले पछिल्ला वर्षहरूमा आन्तरिक राजस्व संकलनलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म गाउँपालिकाले कुल १ करोड ५१ लाख ७ हजार १५० रुपैयाँ ७२ पैसा राजस्व संकलन गर्न सफल भएको जनाएको छ ।
गाउँपालिकाले यस आर्थिक वर्षमा १ करोड ९५ लाख ३५ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । हालसम्म लक्ष्यको ७७ प्रतिशतभन्दा बढी प्रगति हासिल भएको गाउँपालिकाका लेखा अधिकृत सन्तोष दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कुल संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा अन्य राजस्व तथा प्राकृतिक स्रोतको उपयोगबाट प्राप्त भएको छ । दहत्तर बहत्तर शुल्क (ढुङ्गा, गिट्टी, बालुवा)लगायतका प्राकृतिक स्रोतबाट ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा ४० लाख ७२ हजार ९०८ रुपैयाँ आम्दानी भएको छ भने अन्य राजस्व शीर्षकबाट ४५ लाख ७४ हजार ५७४ रुपैयाँ संकलन भएको छ ।
गाउँपालिकाका अनुसार केही शीर्षकमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । वहाल करतर्फ ६ लाख रुपैयाँ लक्ष्य राखिएकोमा ७ लाख ५५ हजार ४०२ रुपैयाँ संकलन भएको छ । सरकारी सम्पत्तिको वहाल (भाडा) बाट १० लाख रुपैयाँ लक्ष्य राखिएकोमा १२ लाख ७३ हजार ९०१ रुपैयाँ संकलन भएको छ । यस्तै, भूमि कर तथा मालपोतबाट ६ लाख १६ हजार ४३७ रुपैयाँ, सिफारिस दस्तुरबाट ८ लाख २४ हजार १०० रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ३ लाख ८२ हजार ३०० रुपैयाँ, व्यवसाय करबाट १ लाख ७१ हजार ४७५ रुपैयाँ तथा व्यवसाय दर्ता दस्तुरबाट १ लाख २७ हजार ३०० रुपैयाँ राजस्व संकलन भएको छ ।
यद्यपि केही महत्वपूर्ण शीर्षकमा भने अपेक्षाअनुसार प्रगति हुन सकेको छैन । ४० लाख रुपैयाँ लक्ष्य रहेको प्रदूषण नियन्त्रण शुल्कबाट हालसम्म १२ लाख रुपैयाँ मात्र संकलन भएको छ । त्यस्तै, ५ लाख रुपैयाँ लक्ष्य रहेको नक्सापास दस्तुरबाट ११ हजार २४४ रुपैयाँ ८५ पैसा मात्र संकलन भएको छ । वहाल विटौरी कर, साना सवारी साधन कर तथा अन्य मनोरञ्जन कर शीर्षकमा भने हालसम्म कुनै राजस्व संकलन हुन सकेको छैन । तथापि प्रशासनिक शुल्क, वहाल कर तथा प्राकृतिक स्रोत व्यवस्थापनबाट प्राप्त उपलब्धिले गाउँपालिकाको राजस्व अवस्थालाई सकारात्मक बनाएको छ ।
गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आन्तरिक आम्दानीमा भएको वृद्धि पालिकाको समृद्धितर्फको सकारात्मक संकेत भएको बताउनुभयो । उहाँका अनुसार आन्तरिक स्रोत बलियो हुँदा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने कार्यसम्पादनमा आधारित अनुदान वृद्धि गर्न समेत सहयोग पुग्छ । नयाँ राजस्व स्रोतहरूको पहिचान गर्दै राजस्व प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । संकलित राजस्वले विकास निर्माण, पूर्वाधार सुधार तथा दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न सहजता प्रदान गर्ने अध्यक्ष चिदीको भनाइ भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले आन्तरिक स्रोतको वृद्धिले स्थानीय सरकारलाई नागरिकका आवश्यकता र अपेक्षाहरू समयमै सम्बोधन गर्न सहयोग पुग्ने बताउनुभयो । राजस्व संकलनमा भएको प्रगतिले सेवा प्रवाह तथा विकास गतिविधिमा सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ ।
गाउँपालिकाका सूचना अधिकारी नित्यानन्द खनालले पनि गाउँपालिकाको आम्दानी जति बढ्यो, त्यति नै जनताका आवश्यकता सम्बोधन गर्न सहज हुने उल्लेख गर्नुभयो । उहाँले आन्तरिक राजस्व संकलनमा हासिल गरेको प्रगतिले स्थानीय सरकारलाई थप आत्मनिर्भर बनाउने र स्थानीय आवश्यकता अनुसार विकासका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सबिने बताउनुभयो ।








