काठमाडौँ। ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
हरेक वर्ष जुन २१ तारिखका दिन मनाइने यो दिवस संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि सुरु गरिएको हो। सो वर्षदेखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा विश्वभर मनाइँदै आएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँ उपयोगी भएकाले अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत धेरै देशहरूले समर्थन जनाएका थिए। छोटो समयमै १७७ देशको समर्थन जुट्दै यो दिवसले विश्वव्यापी मान्यता पाएको थियो।
नेपालमा भने योग दिवसको परम्परा सन् २०३६ सालदेखि सुरु भएको मानिन्छ। त्यस समयमा माघ १ गते सूर्य उत्तरायण सुरु हुने दिनलाई आधार मानेर योग दिवस मनाउन थालिएको थियो। पछि नेपाल सरकारले २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा घोषणा गरेको हो।
हाल नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस र जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस दुवै मनाइँदै आएको छ। योगलाई रोग लाग्न नदिन र मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गर्न अत्यन्त प्रभावकारी माध्यमका रूपमा लिइन्छ।
योगको प्राचीन परम्परा नेपालकै हिमाली क्षेत्रबाट ऋषिमुनिहरूले विकास गरेको मानिन्छ। आधुनिक समयमा यसको महत्व पुनः बढ्दै गएको छ, विशेषगरी युरोप र अमेरिकामा योग, ध्यान र आयुर्वेदप्रति आकर्षण बढेपछि नेपालमा पनि यसको अभ्यास र अध्ययन विस्तार हुँदै गएको छ।
नेपाल संस्कृत विश्वविद्यालयमा योग तथा प्राकृतिक चिकित्साको अध्ययन–अध्यापन भइरहेको छ भने त्रिभुवन विश्वविद्यालयअन्तर्गत पनि योग विषयको पठनपाठन सुरु गरिएको छ।
आज योग दिवसका अवसरमा काठमाडौँस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा योगासन प्रदर्शनसँगै योगको महत्वबारे जानकारी दिइनेछ। मुख्यसचिवको उपस्थितिमा हुने उक्त कार्यक्रममा योगलाई जीवनशैलीका रूपमा अपनाउनुपर्नेमा जोड दिइनेछ।








