अन्तरराष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’

काठमाडौँ। नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन मिति सार्वजनिक हुनुअघि नै अन्तरराष्ट्रिय बजारमा उल्लेखनीय आकर्षण देखिएको छ।

नेपाली चलचित्रको विदेशी बजार विस्तार भइरहेको समयमा ‘पेन्सन पट्टा’ ले पनि निरन्तर अन्तरराष्ट्रिय माग प्राप्त गर्दै आफ्नो वितरण विस्तारलाई तीव्र बनाएको छ। चलचित्रका निर्देशक तथा लेखक माओत्से गुरुङका अनुसार प्रदर्शन मिति सार्वजनिक हुनु अघि नै बेलायत र हङकङमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ।

बेलायतका लागि सपन इन्टरटेनमेन्ट लिमिटेड र हङकङका लागि मेन ड्रागन लिमिटेडले चलचित्रको रिलिज अधिकार खरिद गरेका हुन्। त्यसैको निरन्तरतामा अहिले अष्ट्रेलिया र न्यूजिल्याण्डका प्रदर्शन अधिकार पनि बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।

अष्ट्रेलिया र न्यूजिल्याण्डका लागि दि ब्याक ईभेन्ट्सले प्रदर्शन अधिकार खरिद गरेको हो। यससँगै ‘पेन्सन पट्टा’ ले प्रदर्शनअघि नै विभिन्न अन्तरराष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ।

यसअघि निर्देशक माओत्से गुरुङका चलचित्र ‘पुरानो डुङ्गा’ र ‘दयारानी’ ले स्वदेश तथा विदेश दुवै बजारमा राम्रो चर्चा कमाएका थिए। सोही कारण ‘पेन्सन पट्टा’ प्रति विदेशी वितरक तथा नेपाली डायस्पोराको चासो उल्लेखनीय रूपमा बढेको निर्देशक गुरुङको विश्वास छ।

चलचित्रको कथा खुदी खोलाको किनारमा रहेको सुकुमवासी बस्तीमा बस्ने आमा–छोरा छलु र राजनको जीवन संघर्षमा आधारित छ। चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर लगायत कलाकारहरूको अभिनय रहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय