कबुलियती वन र भावी योजनाका विषयमा पत्रकार अन्तरक्रिया

पाल्पा । कबुलियती वन आयआर्जन सुधार, सिकाइ र आगामी कार्य दिशाका विषयमा पाल्पाली पत्रकारहरुसंग डिभिजन वन कार्यालय, पाल्पाले अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जिल्लामा कबुलियती वनको सक्रियताका कारण हैसियत बिग्रिएका वन क्षेत्रको पुनरुत्थान हुनुका साथै गरिबीको रेखामुनि रहेका स्थानीय समुदायको आर्थिक अवस्थामा ठूलो सुधार आएको बताउनुभयो । उहाँले वन ऐन २०७६ को दफा २६ अनुसार २० प्रतिशतभन्दा कम छत्र घनत्व भएका बिग्रिएका वन क्षेत्रलाई लक्षित गरी सञ्चालित यस कार्यक्रमले अनुत्पादक खोरिया र वनमाराले ढाकेका क्षेत्रलाई व्यावसायिक वनमा परिणत गरिदिएको बताउनुभयो ।

हालसम्म पाल्पाका निस्दी, रम्भा, माथागढी, तिनाउ, रैनादेवी र रिव्दीकोट लगायतका क्षेत्रमा कुल २०५ वटा कबुलियती वन समूहहरू गठन भई १,६६८.१४ हेक्टर क्षेत्रफल वन जग्गामार्फत २,२२३ घरधुरीका १५,३१९ जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित भएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ थियो ।
डिभिजन वन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, जिल्लाभरका ११२ वटा कबुलियती वन समूहले ६९८ हेक्टर क्षेत्रफलमा २३ लाख ३ हजार ५ सय अम्रिसोका बिरुवा रोपण गरेको उल्लेख छ । यसैगरी, विगत ५ वर्षमा कुल ८ लाख ८३ हजार ९ सय १ किलोग्राम अम्रिसो उत्पादन भई ७ करोड ६ लाख ३८ हजार ३ सय १० रुपैयाँ आम्दानी भएको छ, जसबाट प्रति क्लष्टर वार्षिक औसत आम्दानी १५ लाख ६९ हजार ७ सय ४० रुपैयाँ देखिएको कार्यालयले जनाएको छ ।

यस्तैगरी अम्रिसोको अलावा कबुलियती वन र निजी जग्गामा समेत गरी दुई हजार ५ सय किवीका बिरुवा विस्तार गरिएको छ भने निस्दी–७ मोलोग्राममा १२ हेक्टर क्षेत्रफलमा २० हजार केराका बिरुवा रोपण गरी विगत ४ वर्षमा ७ हजार ६ सय किलोग्राम उत्पादन र ४ लाख ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको बरिष्ठ वन अधिकृत खिलबहादुर तामाङले बताउनुभयो । यसका साथै ५५ हजार तेजपात, ७२ सय टिमुर र २५ हजार अलैँचीका बिरुवा रोपण गरिनुका साथै ६० प्रतिशत घरधुरीले व्यावसायिक बाख्रा तथा बंगुरपालन सुरु गरेको उहाँले बताउनुभयो ।

स्थानीय स्तरमा गठन गरिएका समूहहरूको बचत तथा ऋण परिचालनमार्फत १ करोड १० लाख ७३ हजार ६ सय रुपैयाँ र काउलेडाँडा कृषि सहकारी संस्था लि. मार्फत १० करोड रुपैयाँ बराबरको वित्तीय परिचालन भई स्थानीय अर्थतन्त्र चलायमान बनेको बरिष्ठ वन अधिकृत तामाङको भनाइ छ ।
आगामी कार्यदिशामा अम्रिसोको दिगो उत्पादनका लागि नियमित माटो तथा मलखाद व्यवस्थापन गर्ने, अन्तरबालीको रूपमा ओखर, लप्सी र तेजपात लगाउने, र स्थानीय स्तरमै कुचो निर्माण गर्ने उद्योग स्थापना गरी व्यावसायिक बाख्रापालनलाई थप प्रवद्र्धन गर्ने योजना रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले अम्रिसोको फूल र कुचो मात्र बिक्री नगरी पातको पनि विक्रीको व्यवस्थापन गर्नुपर्ने, दीगो बजार व्यवस्थापन, बिचौलियाको अन्त्य, कार्यक्रमको दोहोरोपन रोक्नुपर्ने, जिल्लाका अन्य क्षेत्रमा रहेका सम्भावित हैसियत बिग्रिएका वन क्षेत्रमा समेत कार्यक्रम विस्तार गर्न र स्थानीय समुदायको वित्तीय पारदर्शीताका लागि लेखा तथा अभिलेख व्यवस्थापनमा ध्यान दिनुपर्नेलगायतका सुझाव राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय