
पाल्पा । माथागढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले गाउँ सभाको १९ औं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा मुख्य रूपमा दिगो पूर्वाधार विकास, कृषिको आधुनिकीकरण, रोजगारी सिर्जना र समावेशी सुशासनलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्न जग्गाको चक्लाबन्दीमा जोड दिने नीति लिएको छ । आगामी आर्थिक वर्षमा मौरीपालनका साथै खुर्सानी, आलु, धनियाँ, तरकारी र किवी पकेट क्षेत्रको विस्तार गरिने अध्यक्ष चिदीले घोषणा गर्नुभयो ।
यसका साथै प्रस्तुत नीति तथा कार्यक्रममा माटोको जैविक गुण संरक्षणका लागि रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्दै जैविक खेती प्रवद्र्धन गर्न विशेष कार्यक्रमहरू ल्याइने उल्लेख छ । यसका साथै, ‘एक वडा एक तरकारी नर्सरी’ र ‘एक वडा एक उत्पादन पकेट’ कार्यक्रमलाई निरन्तरता दिँदै क्षेत्र विस्तार गरिने उल्लेख छ । उत्पादित वस्तुहरूको बजारीकरणका लागि सहकारी र समूहहरूको समन्वयमा शीतभण्डार (कोल्ड स्टोर) र कृषि बजार सञ्चालन प्रक्रिया अघि बढाइनेछ । दूध र मासुमा आत्मनिर्भर बन्न भैंसी प्रवद्र्धन र कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार कार्यक्रमलाई अगाडि बढाइने गाउँपालिकाले जनाएको छ ।
यस्तै भौतिक पूर्वाधार विकासलाई गाउँपालिकाले समृद्धिको मुख्य आधार मानेको छ । गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको बाँकी कार्य शीघ्र सम्पन्न गर्ने, खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न प्लास्टिक पोखरी र स्यालो ट्युबवेल निर्माणका कार्यक्रम सञ्चालन गरिनेछ भने व्यावसायिक कृषि क्षेत्रमा कृषि सडक र विद्युतीकरण जस्ता पूर्वाधारहरू पु¥याइने जनाएको छ ।
रोजगारी, उद्यमशीलता र सीप विकासयुवा जनशक्तिको विदेश पलायन रोक्न र आन्तरिक रोजगारी प्रवद्र्धन गर्न श्रम बजारको माग अनुरूप सीप विकास र एडभान्स तालिमहरू सञ्चालन गरिने छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप र अनुभव पहिचान गरी उनीहरूलाई उद्यमशीलतासँग जोड्न ‘वैदेशिक रोजगार सम्बन्धी पाश्वचित्र’ (प्रोफाइल) तयार गर्ने नीति गाउँपालिकाको रहेको छ । साथै, स्थानीय मजदुरहरूको सामाजिक सुरक्षाका लागि ‘मजदुर दुर्घटना बिमा कार्यक्रम’ लाई आगामी वर्ष पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
स्थानीय स्तरमा दुनाटपरी उत्पादन गर्ने उद्यमीलाई प्रोत्साहन गरी प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहन गर्ने नवीन नीति गाउँपालिकाले अघि सारेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो । उहँले समावेशी सुशासन मार्फत गुणस्तरीय सेवा र सामाजिक न्याय सुनिश्चित गर्नु पालिकाको प्रमुख लक्ष्य रहेको बताउनुभयो । नागरिकलाई छिटो र प्रभावकारी सेवा प्रवाह गर्न कर्मचारीहरूमा ‘गुड सर्भिस कल्चर’ (कुशल सेवा संस्कृति) को विकास गरिने प्रमुख प्रशासकीय अधिकृत दयालको भनाइ छ । स्वास्थ्य क्षेत्रतर्फ विपन्न नागरिकको स्वास्थ्य बिमा र ‘उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम’ मार्फत गर्भवती महिलालाई पोषण सहायता वितरण गर्ने कार्यलाई निरन्तरता दिइने सूचना अधिकारी नित्यानन्द खनालले बताउनुभयो । शिक्षाको गुणस्तर सुधारका लागि कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान, भर्चुअल शिक्षण र स्थानीय उत्पादनमा आधारित दिवा खाजालाई प्रोत्साहन गरिने नीति लिइएको उहाँको भनाइ छ । सीमित स्रोतसाधन र विषम भौगोलिक अवस्था जस्ता चुनौतीका बावजुद स्थानीय जनताको राय, सुझाव र भावनालाई समेटेर नीति तथा कार्यक्रम तयार गरिएको र प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहयोग रहने प्रवक्ता शंकर दर्लामीले बताउनुभयो । सभाको दोस्रो बैठक १० गते बस्ने गाउँपालिकाले जनाएको छ ।








