
पाल्पा । चालू आर्थिक वर्ष २०८२÷०८३ मा पाल्पाको माथागढी गाउँपालिकाले पूर्वाधार विकासको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । गाउँपालिकाले सडक सञ्जालको विस्तार, प्रशासनिक तथा सामुदायिक भवन निर्माण र सिँचाइ क्षेत्रमा तीव्र गतिमा काम अगाडि बढाएको हालसम्मको प्रगति विवरणले देखाएको छ ।
यातायात सहजताका लागि गाउँपालिकाले सडक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ । यस अवधिमा ८ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ भने ७ किलोमिटर सडक चौडा गर्ने कार्य सम्पन्न भएको इन्जिनियर धर्मेन्द्र कुमार यादवलले बताउनुभयो । त्यसैगरी, २ किलोमिटर सडक ढलान, ४ किलोमिटर सडकमा पक्की नाली निर्माण, ८ किलोमिटर ग्राभेल तथा स्तरोन्नति र ६५० मिटर सडक कालोपत्रे गर्ने कार्य सफलतापूर्वक सकिएको उहाँको भनाइ छ । सडकको दिगोपनका लागि २ वटा बक्स कल्भर्ट, ४ वटा स्ल्याब कल्भर्ट र विभिन्न स्थानमा पाइप कल्भर्टहरू निर्माण गरिएको इन्जिनियर यादवले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले भन्नुभयो, “हामी माथागढीलाई समृद्ध र सुविधायुक्त गाउँपालिका बनाउने संकल्पका साथ अघि बढेका छौँ । चालू आर्थिक वर्षमा भौतिक पूर्वाधारतर्फ हासिल भएका यी उपलब्धिहरूले स्थानीय नागरिकको जीवनस्तर सुधार गर्न र आर्थिक गतिविधिलाई चलायमान बनाउन ठूलो मद्दत पु¥याउनेछ । अधुरा योजनाहरूलाई पनि समयमै सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ ।“ भवन निर्माणतर्फ पनि गाउँपालिकाले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
जनतालाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले निर्माणाधीन १५ शय्याको अस्पताल भवन संचालनको तयारीमा रहेको छ । यसैगरी, वडा नं. ३ सराईमा २५० जना क्षमता भएको अत्याधुनिक सभाहल र दिव्यज्योति नमूना माध्यमिक विद्यालयको २१ कोठे भवन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको सूचना अधिकारी नित्यनन्द खनालले जानकारी दिनुभयो । गाउँपालिका क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा सामुदायिक भवनहरूको मर्मत–सम्भार र रङ्गरोगन र सांस्कृतिक संरक्षण अन्तर्गत तीन वटा मन्दिरको निर्माण कार्य सम्पन्न भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले योजनाहरूको कार्यान्वयन पारदर्शी र नतिजामुखी बनाउन खटिएको बताउनुभयो । उहाँले उपभोक्ता समिति र ठेक्का प्रक्रिया दुवै माध्यमबाट भइरहेका कामहरूको नियमित अनुगमन भइरहेको बताउनुभयो । चालु आवका लक्ष्यहरू समयमै भेटाउन कर्मचारी र प्राविधिक टोली निरन्तर खटिएको बताउदै प्रमुख प्रशासकीय अधिकृत दयालले कृषि उत्पादन वृद्धिका लागि सिँचाइतर्फ १ हजार ७ सय मिटर सिँचाइ कुलो निर्माण गर्नुका साथै २ किलोमिटर सिँचाइ पाइप खरिद गर्ने कार्य सम्पन्न भएको बताउनुभयो ।
योजनाहरूको प्रगति बारे थप प्रष्ट पार्दै सूचना अधिकारी खनालले भन्नुभयो, “यस आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन हुने गरी सम्झौता भएका २०१ वटा योजनाहरूमध्ये १७० वटा योजनाहरू सम्पन्न भइसकेका छन् भने अन्य सम्पन्न हुने क्रममा छन् । त्यस्तै, ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गरिएका ३२ वटा योजनाहरूमध्ये १५ वटा सम्पन्न भइसकेका र बाँकी योजनाहरू निर्माणको अन्तिम चरणमा रहेका छन् ।“ सीमित स्रोत र साधनका बाबजुद माथागढीले तय गरेका पूर्वाधार विकासका लक्ष्यहरू जनअपेक्षा अनुरूप तीव्र गतिमा अघि बढिरहेको उहाँको भनाइ छ ।








