
पाल्पा । तिनाउ गाउँपालिकालले अनलाइन साइबर अपराध सम्बन्धी बालबालिकाका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा संचार मन्च पाल्पाले संचालन गरेको अभिमुखीकरण कार्यक्रम पालिका भित्रका ९ वटा माध्यमिक विद्यालयमा संचालन हुने जनाएको छ ।
बढ्दो प्रविधिको प्रयोगसँगै बालबालिकाहरू साइबर अपराधको जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै माध्यमिक तहमा अध्ययनरत बालबालिकाहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।
मंगलबार २ नं. वडामा रहेको दोभान माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बढ्दो साइबर अपराध न्यूनीकरण र कानुनी ज्ञानका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । इन्टरनेट र सामाजिक सञ्जालको सही प्रयोग नहुँदा बालबालिकाहरू जोखिममा पर्ने गरेको बताउदै समस्या न्यूनीकरणका लागि गाउँपालिकाले सचेतना कार्यक्रम गरेको बताउनुभयो । यसका साथै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउन हामीले विभिन्न गतिविधिलाई तीव्रता दिएका छौँ । आगामी २०८३ सालभित्र तिनाउलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी भैरहेको सन्र्दभमा यो कार्यक्रमले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
त्यस्तै, दोभान माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास अर्यालले प्रविधिको युगमा यस्ता सचेतनामूलक कार्यक्रम विद्यार्थीका लागि निकै फलदायी हुने भन्दै सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले प्रविधिको प्रयोग ज्ञान प्राप्तीका लागि हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद पौडेलले विद्यार्थीहरूलाई पढाइसँगै डिजिटल जगतमा सुरक्षित रहने उपाय सिकाउनु वर्तमान समयको ठुलो आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रविधिको प्रयोग सही भएपनि जानेर वा अन्जानमा हुने गल्तीले ठूलो जोखिम निम्त्याउने भएकोले विद्यार्थीहरुलाई सिकाईएको ज्ञान अभिभावकहरु सम्म पुग्ने र जोखिम कम हुने विश्वास व्यक्त गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा इन्टरनेटमा फोटा, भिडियो र म्यासेज पोस्ट गर्दा बन्ने ’डिजिटल फुटप्रिन्ट’ र यसले भविष्यमा पार्न सक्ने गम्भीर असर, अनलाइनमा जिस्काउने, धम्क्याउने वा चरित्रहत्या गर्ने जस्ता साइबर बुलिङ र ब्ल्याकमेलिङ विरुद्ध कसरी लड्ने, आत्मबल कसरी बढाउने र यस्ता घटना भएमा कहाँ र कसलाई रिपोर्ट गर्ने, अनलाइन गेमका जोखिम, नक्कली डेलिभरी वा उपहारका नाममा हुने ठगी, र सार्वजनिक ’फ्री वाईफाई’ प्रयोग गर्दा हुन सक्ने डाटा चोरीको खतराबाट बच्न अपनाउनुपर्ने सावधानी, पासवर्ड र अकाउन्ट सुरक्षाका लागि बलियो पासवर्ड राख्न, वन टाइम पासवर्डको गोपनीयता कायम राख्न र अकाउन्ट रिकभरी सेटिङ, नेपालको कानुनी व्यवस्था, विद्युतीय कारोबार ऐन अन्तर्गत कुन–कुन कार्यहरू साइबर अपराध मानिन्छन् र यसमा के–कस्तो कानुनी सजाय र जरिवानाको व्यवस्था छ भन्न विषयमा सहजकर्ताहरू पत्रकार माधवप्रसाद अर्याल, रेखीराम राना, प्रहरी सहायक निरीक्षक मोहन खड्का र निवेश कुमार अधिकारीले सहजीकरण गर्नुहुने छ ।
(मिति २०८३ असार ४ गते करुवा अर्धसाप्ताहिक पत्रिका प्रकाशित समाचार)








