रम्भाको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

पाल्पा । रम्भा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले गाउँ सभामा १९ औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

सार्वजनिक नीति तथा कार्यक्रममा गाउँपालिकालाई सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता(एआई) आधारित ‘स्मार्ट ग्रामीण पालिका’ को रूपमा विकास गर्ने महत्वकांक्षी योजना अघि सारिएको छ । यस अन्तर्गत शिक्षामा कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गर्ने, कृषि, स्वास्थ्य र सेवा प्रवाहलाई डिजिटल माध्यमबाट प्रभावकारी र नागरिकमैत्री बनाउने संकल्प गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

भौतिक पूर्वाधार अन्तरगत “सडक स्तरोन्नति वर्ष“ का रुपमा अगाडि बढाउने गरी यस वर्ष गाउँपालिकाले अत्यावश्यक र प्राविधिक रूपमा उपयुक्त देखिएका बाहेक नयाँ सडकको ट्याक खोल्ने कार्यलाई पूर्ण रूपमा रोक्ने नीति लिएको उहाँको भनाइ छ । आगामी आर्थिक वर्षलाई विद्यमान सडकहरूलाई बाह्रै महिना सुचारु राख्न सडक मर्मत कोष र लेन्थमेनहरूको व्यवस्थालाई प्रभावकारी बनाइने नीति तथा कार्यक्रमा उल्लेख छ । त्यस्तै, ‘एक घर एक धारा’ अभियानलाई पूर्णता दिने र लिफ्टिङ्ग खानेपानीको न्यूनतम विद्युत महशुल गाउँपालिकाले नै ब्यहोर्ने व्यवस्थालाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक नीति तथा कार्यक्रममा “जनताको घरमै पालिका“ अभियान अन्तर्गत ई–गभर्नेन्स, डिजिटल कर भुक्तानी, र अनलाइन फाइल ट्रयाकिङ प्रणाली लागू गरी कागजी कामलाई न्यूनीकरण गरिने उल्लेख छ । नागरिकको माग र आवश्यकतालाई नै केन्द्रविन्दुमा राखेर तयार गरिएको नीति तथा कार्यक्रममा नयाँ सडक खनेर बजेट छर्ने प्रवृत्तिको अन्त्य गर्दै भएका सडकहरूको स्तरोन्नतिमा ध्यान केन्द्रित गरिने अध्यक्ष भण्डारीको भनाइ छ । रम्भालाई प्रविधिसँग जोड्दा सुशासन र समृद्धिको बलियो आधार बन्ने उहाँको विश्वास छ ।

प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले प्रस्तुत नीति तथा कार्यक्रमले सेवा प्रवाहलाई जनताको घरदैलोसम्मै पु¥याउने लक्ष्य राखेको बताउनुभयो । उहाँले जनताको घरमै पालिका अभियान, एकद्वार प्रणाली र डिजिटल ई–गभर्नेन्सको माध्यमबाट प्रशासनिक झन्झटहरू अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । बजेट र योजनाहरूलाई वातावरणमैत्री एवं दिगो बनाउँदै आर्थिक पारदर्शिताका लागि शून्य बेरुजुको नीतिलाई प्रशासनिक रूपमा कडाइका साथ कार्यान्वयन गर्न आफूहरु पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत पुनको भनाइ छ ।

यस्तैगरी गाउँपालिकाले दूध र मासु उत्पादनमा जोड दिँदै कृषि एम्बुलेन्स सञ्चालनलाई निरन्तरता दिइने जनाएको छ । लिची र सुन्तला जातका फलफूलको जोन विस्तार गर्ने तथा बाँझो जग्गा उपयोगका लागि ‘भूमि बैक’ स्थापना गर्ने योजना अघि सारिएको छ । वडा नं. १ हुँगीमा निर्माणाधिन औद्योगिक ग्रामलाई यसै वर्ष सञ्चालनमा ल्याइनेछ । शिक्षा र स्वास्थ्यः “पढ्दै कमाउँदै, कमाउँदै पढ्दै“ कार्यक्रममार्फत शिक्षालाई श्रमसँग जोडिनेछ । सम्भावित विद्यालयहरूमा मगर भाषाको पठनपाठन सुरु गरिनेछ । स्वास्थ्यतर्फ ‘स्वस्थ गाउँपालिका, नागरिक आरोग्य अभियान’ मार्फत दीर्घरोग स्क्रिनिङ र निःशुल्क प्रयोशाला सेवालाई प्रभावकारी बनाइने नीति दिइएको सूचना अधिकारी सुरज पाठकले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय