
पाल्पा । रिब्दीकोट गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गर्ने उद्देश्यले ‘एक बोट, एक सयको नोट’ अभियान शुभारम्भ गरेको छ । खेतीयोग्य जमिन बाँझो छाडेर विदेशिने वा सहर पस्ने प्रवृत्ति तीव्र बनिरहेका बेला गाउँपालिकाले नमुना फलफूल तथा जडीबुटी बगैँचा निर्माणका लागि अभियान सुरुवात गरेको हो । ग्रामीण आर्थिक विकास संघ (रेडा) को प्राविधिक तथा व्यवस्थापकीय सहजीकरणमा सुरु भएको यो अभियानका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
रिब्दीकोट वडा नम्बर २ का स्थानीय अगुवा कृषक खिमानन्द पोखरेलको बारीमा सुन्तलाका बिरुवा रोपेर अभियानको औपचारिक शुभारम्भ गरिएको हो । व्यावसायिक खेतीमा होमिएका कृषक पोखरेलले यस वर्ष आफ्नो बारीमा मात्रै ३२६ वटा सुन्तलाका बिरुवा रोप्ने बताउनुभयो । लामो समय कृषि कर्म गर्दै आउनुभएका पोखरेलले स्थानीय सरकार आफ्नै बारीमा आएर सहयोग गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै फलफूल तथा जडीबुटी उत्पादनमार्फत कृषकको आयआर्जन वृद्धि गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले कृषकको आर्थिक भार कम गर्न चार वर्षसम्म नगद सहयोग गर्ने व्यवस्था मिलाएको बताउनुभयो । जसअन्तर्गत न्यूनतम ५० वटा बिरुवा रोप्ने किसानलाई पहिलो वर्ष प्रति बिरुवा १०० रुपैयाँ, दोस्रो वर्ष ७५ रुपैयाँ, तेस्रो वर्ष ५० रुपैयाँ र चौथो वर्ष २५ रुपैयाँका दरले नगद प्रोत्साहन उपलब्ध गराइने अध्यक्ष कार्कीको भनाइ छ ।
गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले कृषिलाई परम्परागत निर्वाहमुखी शैलीबाट माथि उठाई व्यावसायिक र उत्पादनमुखी बनाउँदै स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
अभियान अन्तरगत पालिकाभित्रका ७२ वटा टोलमा करिब ४० हजार फलफूल तथा जडीबुटीका बिरुवा रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ८ वटै वडाका ३ सय ८८ जना कृषकहरूबाट ३७ हजार ९३७ वटा बिरुवाको माग भइसकेको प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो । कृषकहरूले आफ्नो भूगोल र रुचि अनुसार सुन्तला, कागती, कफी, टिमुर, बुद्धचित्त, दालचिनी, अलैँची, किवी, एभोकाडो, लिची, शीतलचिनी, ओखर, ड्रागनफ्रुट, आँप, बेलौती, आरुबखडा, जुनार र मौसम लगायतका बहुमूल्य बिरुवा माग गरेको उहाँको भनाइ छ ।
यसैगरी २ नं. वडाध्यक्ष ओम प्रसाद पोखरेलले बाँझो जमिनको पूर्ण सदुपयोग, फलफूल उत्पादनमा वृद्धि, पर्यावरण संरक्षण तथा ग्रामीण कृषकहरूको दिगो आम्दानी बढाउन यो अभियान कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । रिब्दीकोट कृषि परियोजनाका बजार विकास सहजकर्ता रामप्रसाद न्यौपानेले अभियानले किसानहरुलाई दीर्घकालीन रुपमा आर्थिक फाइदा लिने वातावरण निर्माण हुने बताउनुभयो ।
(मिति २०८३ असार ४ गते करुवा अर्धसाप्ताहिक पत्रिका प्रकाशित समाचार)








