
पाल्पा । माथागढी गाउँपालिकाले ३ नं. वडामा रहेका कौडेलेकलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरेसंगै यहाँ आउने पर्यटकहरुको संख्यामा वृद्धि हँुर्दै बन्दै गएको छ । गाउँपालिकाको ३ नं. वडाको ओलेस गाउँको शिरमा रहेको कौडेलेक माथागढी ३ को खहरे बजारबाट करिव आधा घण्टा सवारीसाधनको यात्रा पछि ओलेस गाउँ पुगिन्छ । ओलेसबाट करिब एक घण्टा पैदलमार्ग हुँदै पुगिने कौडेलेक समुन्द्री सहतदेखि करिब एक हजार ९ सय ५० मिटरको उचाइमा रहेको छ ।
पाल्पाकै उच्च स्थानमा रहेको कौडेलेकलाई गाउँपालिकाले पर्यटकीय गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्न विगतदेखिनै विभिन्न कामहरु गर्दै आएको छ । गाउँपालिका आफै र लुम्बिनी प्रदेश सरकारसंगको समन्वयमा लेकमा पुग्नेगरी पदमार्ग तथा विश्राम स्थल व्यवस्थापन, स्काई ब्रिज निर्माणका साथै टिकट घर निर्माण कार्यसमेत गरिएको ३ नं. वडाका वडाध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।
जिल्लाकै अग्लो पहाडमा पर्ने कौडेलेकलाई पर्यटकीय गन्तव्य बनाउनका लागि सुरुका वर्षदेखि बजेट विनियोजन गरेर पूर्वाधार निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । कौडेलेक ऐतिहासिक ठाउँ हो, यो जिल्लाकै सबैभन्दा अग्लो पहाड भएको र पर्यटकीय हिसाबले निकै उत्कृष्ट भएको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर यसको विकासमा लागि परेका उहाँले बताउनुभयो ।
पर्यटक भित्राउन प्रचार–प्रसारसँगै ओलेसमा घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । ८२ घरधुरी मगर समुदायको बसोबास रहेको गाउँमा अहिले दश घरमा होमस्टे सेवा सञ्चालनमा रहेको माथागढी गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले बताउनुभयो । उहाँले होमस्टे सञ्चालन गर्न होमस्टे सञ्चालन गर्ने तालिम र अवलोकन भ्रमण गराएको साथै आधारभूत सहयोग ( सुत्ने बेड, ड्रम) उपलब्ध गराएको बताउनुभयो ।
माथागढी ३ ओलेस टोल संयोजक खुम बहादुर सुर्यवंशीले पहिले कौडेलेक स्थानीयको घाँस–दाउरा गर्ने थलो भए पनि अहिले पर्यटक घुम्न आउने क्रम बढेको बताउनुभयो । उहाँले होमस्टे सुरु भएपछि र संरचना निर्माण भएपछि पर्यटकहरुको संख्या बढ्दो रहेको बताउनुभयो । कौडेलेक मगर सामुदायिक होमस्टेका अध्यक्ष समेत रहनु भएका सुर्यवंशीले यस क्षेत्रको थप विकासका लागि सडक स्तोरोन्नति, बिजुली बत्ति र खानेपानीको सहज व्यवस्थापन गर्न सकेमा पर्यटकहरुलाई सहज हुने उहाँको भनाइ छ । जसका विषयमा गाउँपालिकाको नेतृत्वसंग छलफल भैरहेको उहाँले बताउनुभयो ।
यहाँ भूपु सैनिक तथा प्रहरी कल्याणकारी संस्थाले कौडेलेकको पर्यटन प्रवद्र्धनका लागि भ्यू टावर बनाइदिएको छ । यही क्षेत्रमा जन्मेका पूर्व सैनिक तथा प्रहरीहरुले सामाजिक उत्तरदायित्व वहन स्वरुप टावर बनाइदिएको संस्थाले जनाएको छ । यहाँ एकपटक घुम्न आएका पर्यटकहरु पुनः अर्कोपटक आउने गरेका छन । स्थानीयका अनुसार अहिले हप्तामा दुई दिन विदा रहेको र होमस्टे पनि भएकोले ओलेस हुँदै कौडेलेक पुग्ने पर्यटक बढ्ेकोले आयआर्जनमा समेत वृद्धि भएको छ । विदाको समयमा पर्यटक बढी आउने गरेका छन् । कौडेलेकबाट पूर्वदेखि पश्चिमसम्मका हिमश्रृखलासँगै तराईका अधिकांश भू–भाग र भारतका केहि बजारहरु देख्न सकिन्छ ।
ओलेस मगर बस्ती भएकाले रीतिरिवाज, परम्परा र संस्कृतिको संरक्षण गर्दै पर्यटकलाई मौलिक कला संस्कृति, भेषभूषा र परम्परालाई देखाउन र आर्थिक समृद्धि गराउन गाउँपालिकाले योजना बनाएर अगाडि बढेको अध्यक्ष चिदीले बताउनुभयो ।








