
पाल्पा । रिब्दीकोट गाउँपालिकाको गाउँ सभाको २० औं अधिवेशन सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा मंगलबार अधिवेशनको पहिलो बैठक सम्पन्न भएको हो । उक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि १६ वटा क्षेत्रलाई प्राथमिकतामा राखेर नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ भने दुई वटा महत्वपूर्ण विधेयकसमेत सर्वसम्मत रूपमा पारित गरिएको छ ।
अधिवेशनको पहिलो बैठकमा चालू आर्थिक वर्ष २०८२÷०८३ को प्रगति विवरण प्रस्तुत गर्दै सभाध्यक्ष एवं गाउँपालिका अध्यक्ष कार्कीले पालिकाबाट विनियोजित ५४ करोड ९८ लाख ९३ हजार २३२ रुपैयाँ बजेटमध्ये ११ महिनाको अवधिमा पुँजीगततर्फ ५० दशमलव ८९ प्रतिशत र चालुतर्फ ६५ दशमलव ९८ प्रतिशत बजेट कार्यान्वयन भएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको लोकप्रिय कार्यक्रम ‘एक बोट सयको नोट’ अन्तर्गत करिब २५ प्रजातिका फलफूल तथा जडिबुटीका ३८ हजारभन्दा बढी बिरुवाको माग भई उपलब्ध गराउने प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कृषि, पशुपालन, पर्यटन र पूर्वाधार विकासका माध्यमबाट समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्पसहितको नीति तथा कार्यक्रम अघि सारेको छ । यसैगरी, भौतिक पूर्वाधारको स्तरोन्नति, वन तथा वातावरण संरक्षण, विपद व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त बनाउन ‘विद्युतीय सरकार’ (ई–गभर्नेन्स) को अवधारणा बमोजिम कार्य अगाडि बढाउने घोषणा गरिएको छ । स्वच्छ, पारदर्शी, जनमैत्री तथा भ्रष्टाचारमुक्त सार्वजनिक सेवा, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको छ । साथै, पालिकाभित्रका ऐलानी, पर्ती, सरकारी तथा सार्वजनिक जग्गाहरूको लगत संकलन, नक्साङ्कन र सीमाङ्कन गरी संरक्षण गर्ने तथा धार्मिक एवं पर्यटकीय क्षेत्रको विकास गर्ने नीति पालिकाले अघि सारेको अध्यक्ष कार्कीको भनाइ छ ।
यसै अधिवेशनबाट रिब्दीकोट गाउँपालिकाले दुई वटा महत्वपूर्ण विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । कार्यपालिका सदस्य ओम प्रसाद पोखरेलले १९ औं अधिवेशनमा प्रस्तुत भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८३’ र कार्यपालिका सदस्य सुनिल बस्यालले ‘शिक्षा ऐन २०७४ लाई संशोधन गर्ने विधेयक–२०८३’ सभा समक्ष पेश गर्नुभएको विधेयक सर्वसम्मत पारित भएका गाउँपालिकाले जनाएको छ ।
यस्तै, गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले पेश गर्नुभएको ‘बुटवल उपमहानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न प्रक्रिया अगाडि बढाउने’ प्रस्ताव पनि सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । बैठकमा सभाका सदस्य एवं कार्यपालिका सदस्य चिरञ्जिवी पोखरेलले ‘रिब्दीकोट गाउँपालिकाको बेरुजु फछ्र्यौट सम्बन्धी कार्यविधि २०८३’ दफावार छलफलका लागि सभा समक्ष पेश गर्नुभएको जानकारी सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले दिनुभयो ।








