दालचिनीले फेरियो सत्यवतीको पहिचान

पाल्पा । कुनै समय झाडी र बाँझो पाखोका रूपमा उपेक्षित रैनादेवी छहराको ८ नं. वडा सत्यवती गाउँ दालचिनीको व्यवसायिक खेतीसंगै फेरिएको छ । विगत एक दशकदेखि सुरु भएको दालचिनी (तेजपत्ता) को व्यावसायिक खेतीले अहिले समग्र सत्यवतीकै पहिचान र स्थानीयको आर्थिक हैसियत बदलिदिएको हो । बाँझो जमिनको सदुपयोग गर्दै किसानहरूले गरेको मिहिनेत र त्यसले ल्याएको आर्थिक क्रान्ति हेर्न लायक छ ।

सत्यवतीको जुठापौवा गाउँका टोप बहादुर पुन गाउँमै सबैभन्दा बढी दालचिनी बिक्री गर्ने सफल र उदाहरणीय किसान हुनुहुन्छ । १० वर्षअघि वन कार्यालयको सामान्य सहयोगबाट खेती सुरु गर्नुभएका पुनको बारीका कान्ला, पाखा र खोल्साखोल्सीहरू अहिले हरियाली दालचिनीका रुखहरूले भरिएका छन् । “कुनै समय घाँस–दाउरा मात्र हुने पाखो बारीमा अहिले पैसा फल्न थालेको छ,“ किसान पुन बताउनुहुन्छ ।

सामुदायिक र निजी दुवै खाले वनहरूमा गरिएको सफल परीक्षणपछि अहिले सत्यवतीका हरेकजसो घरधुरीले आफ्नो निजी जमिनमा दालचिनीका बिरुवा रोपेका छन् । पत्रकारसहित सत्यवती गाउँ पुगेको डिभिजन वन कार्यालय पाल्पाको टोलीसंग भेटिनुभएका स्थानीय किसान खिम बहादुर गाहाले आफ्नो करिब १० रोपनी निजी खरायन (पाखो जग्गा) मा दालचिनीको व्यावसायिक खेती गर्दै आएको बताउनुभयो । उहाँका अनुसार दालचिनी खेतीबाट यहाँका करिब १५० घरधुरीले वार्षिक रुपमा राम्रो आम्दानी गरिरहेका छन् । दालचिनीको बोक्रा र पात बेचेर मात्रै वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ । बजारको कुनै चिन्ता छैन, व्यापारीहरू गाउँमै आउँछन् । स्थानीय बजारमै बोक्रा प्रतिकिलो एक सय रुपैयाँ र पात प्रतिकिलो ६० देखि ८० रुपैयाँमा सहजै बिक्री भइरहेको किसान गाहाको भनाइ छ ।

गाउँको स्थलगत अनुगमन र किसानहरूसँगको प्रत्यक्ष संवादपछि डिभिजन वन कार्यालय पाल्पाका सहायक वन अधिकृत खिल बहादुर तामाङले सत्यवतीका किसानको जाँगर जिल्लाकै लागि मात्र नभई देशकै लागि एक नमूना र उदाहरणीय कार्य भएको बताउनुभयो । उहाँले किसानहरूले आफ्नै निजी जग्गा र खरायनको सदुपयोग गरेर एकातिर पर्यावरण संरक्षणमा ठूलो गुन लगाउनुभएको छ भने अर्कोतिर आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नुभएको बताउनुभयो । किसानको यो मेहेनत खेर जान नदिन डिभिजन वन कार्यालयले अब यस क्षेत्रलाई ‘विशेष दालचिनी पकेट क्षेत्र’ का रूपमा विकास गर्ने योजना बनाएको सहायक वन अधिकृत तामाङको भनाइ छ । उहाँका अनुसार कार्यालयले आगामी दिनमा किसानहरूलाई प्राविधिक सहयोग, क्षमता अभिवृद्धि तालिम, उन्नत जातका बिरुवा वितरण गर्नुका साथै उत्पादित दालचिनी र तेजपत्ताको बजार सुनिश्चितताका लागि थप रणनीतिक योजनाहरू ल्याउने प्रतिबद्धतासमेत जनाउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय